खाद्य अधिकारका सम्बन्धमा गाउँपालिका संग छलफल

दाङ । फियान नेपाल नेपालगंज र स्थानीय खाद्य अधिकार सञ्जालको संयुक्त आयोजनामा खाद्य अधिकारका सवालमा शुक्रवार गढवा गाउँपालिकामा सवाल पहिचान गरि दस्तावेजीकरणका लागि छलफल भएको छ । स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा खाद्य अधिकार र खाद्य सम्प्रभुताका बिषयमा नेपालको संबिधान २०७२ को धारा ३६ ले ब्यवस्था गरेका प्रावधानहरु, खाद्य अधिकार सम्बन्धि ऐन, खाद्य अधिकार र पोषण सुरक्षा तथा बाँच्नका लागि खान पाउनु पर्ने आम नागरिकहरुको पक्षमा बनाईएका राष्ट्रिय अन्र्तराष्ट्रिय कानूनी प्रावधानका बिषयमा छलफल गरिएको थियो ।
छलफल पछि खाद्य अधिकारको सुनिश्चितताका लागि देखिएका समस्या र चुनौतिहरुका बारेमा दस्तावेजिकरण गर्न लायक केही निश्कर्षहरु आएका छन् । नागरिकहरुको खाद्य अधिकार सुनिश्चित गर्न सिंचाईको अभाव हुन नहुने,जग्गा खण्डिकरण र प्लाटिङ रोकिनु पर्ने,जग्गा बाँझो राख्न नहुने,दैनिक उपभोग्य बस्तुको बजारभाउमा एक रुपता हुनुपर्ने,सिमसार संरक्षण गर्नुपर्ने,बजारमा कृत्रिम अभाव देखाएर ब्यवसायिहरुद्धारा मुल्य बृद्धि गर्न नहुने र नियमित रुपमा खाद्य गुणस्तर बिभाग र स्थानीय सरकारको पहलमा बजार अनुगमन र नियमन गरिनुपर्ने जस्ता महत्वपुर्ण सबालहरु द्यस्तावेजिकरण गरि कार्यान्वयन तर्फ लैजाने योजना बनाइएको फियान नेपालका कार्यक्रम संयोजक शुरेस गौतमले जानकारी दिए ।
कर्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले खाद्य अधिकारका कतिपय सवालहरुमा गाउँपालिकाले काम गरेको तर अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आगामी दिनमा तदारुकता र नियमितता दिने बताइन । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका सदस्य दिनमणि आचार्यले स्थानीय सरकारका प्रतिनिधीहरुले नागरिकको खाद्य अधिकारको सुनिश्चितता गर्न नयाँ ढंगले कृषि र पशुपालन लगायतका गुरुयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । सो अवसरमा गढवा गाउँपालिकाका प्रशासन प्रमुख पुनाराम शर्मा,नागरिक समाजका खगेश्वर शर्मा,कृषि प्राबिधिक फुलन देवि चौधरी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा फियान नेपालका कार्यक्रम संयोजक शुरेस गौतमले खाद्य अधिकारका सवालमा बनेका राष्ट्रिय र अन्र्तराष्ट्रिय कानूनी प्रबधान र आगामी रणनितिका बारेमा जानकारी गराएका थिए ।