कैदीबन्दीलाई पौष्टिक आहार र न्यानो कपडा वितरण

दाङ । कारागार कार्यालय तुलसीपुरका थुनुवा कैदीहरूलाई पौष्टिक आहार वितरण गरिएको छ । कारागार ब्यवस्था विभागले विनियोजन गरेको रकमबाट दीर्घ रोगी, थुनुवा कैदीहरूलाई दुई महिना पुग्ने गरि भिटामिन, ओखती, च्यावन परास र २ क्यारेट अण्डा वितरण गरिएको कारागार शाखामा कार्यरत स्वास्थ्यकर्मी द्रोण वलीले जानकारी दिए ।

स्वास्थ्य समस्याका कारण कमजोर स्वास्थ्य अवस्था भएका १७ जनालाई अन्डा, टनिक र च्यावन परास वितरण गरिएको जेलर अमरबहादुर वलीले जानकारी दिए । गत वर्ष यस किसिमको कार्यक्रम नभएकाले कैदीहरूले पौष्टिक आहार पाउने गरेका थिएनन् । यस पटक पौष्टिक आहार पाएपछि थुनुवा कैदीहरू खुसी भएका छन् ।

हाम्रो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी कारागार शाखाले पौष्टिक आहार तथा ओखती वितरण गरेको छ, दीर्घरोगी थुनुवा कैदी गोरखबहादुर खड्काले बताए । स्वास्थ्य अवस्था कम्जोर देखिने खड्काले तुलसीपुरस्थित कारागारमा आएको १ वर्ष पूरा भएको बताए । अर्का कैदी पुरुषोत्तम भण्डारीले पनि खुसी व्यक्त गरे ।

३ वर्षदेखि कैद भुक्तानी गरिरहेका भण्डारीले ओखती, भिटामिन र अण्डा पाउँदा खुसी लागेको बताए । कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा कारागार ब्यवस्था विभाग र कारागार शाखा जहिले पनि गम्भीर हुने गरेको स्वास्थ्यकर्मी द्रोण वलीले बताए । कारागार शाखा तुलसीपुरमा महिला पुरुष गरि झण्डै ५ सय २५ जनामध्ये ८० वर्षसम्म उमेरका २० जना थुनुवा कैदी छन् । यस्तै, तुलसीपुरका सामाजिक अभियन्ता टोपबहादुर महतरा र गीता महताराले थुनुवा कैदी २० जनालाई न्यानो कपडा वितरण गरेका छन् ।

महतरा दम्पतीले ज्येष्ठ नागरिक थुनुवा कैदीहरूलाई कारागार कार्यालय तुलसीपुरमा सुइटर र टोपी वितरण गरेका हुन् । अटो भिलेजमा गाडीको बडी बनाउने पेशामा रहेका टोपबहादुर महतराले आफ्नो कमाईबाट बचेको रकमले कैदीबन्दीहरूलाई सुइटर र टोपी वितरण गरेका हुन् । थुनुवा कैदीहरू मध्ये ज्येष्ठ नागरिकहरूलाई छनौट गरि सुइटर वितरण गरेको उनले बताए । कारागार कार्यालय तुलसीपुरका जेलर अमरबहादुर वलीले कारागार अव सुधार गृहको रुपमा विकास भइरहेको बताए ।

कारागारमा सीप सिकाउने काम पनि भइरहेको बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति एवं पत्रकार सुशील बस्नेतले थुनुवा कैदीलाई सीप युक्त बनाउन सके दक्ष जनशक्ति उत्पादन हुने बताए । ७९ वर्षीय कविराज बिश्वकर्मा, ७५ वर्षीय कामील हुसेन र ७१ वर्षीय यमबहादुर क्षेत्रीले न्यानो कपडाको आवश्यकता भइरहेको अवस्थामा महतरा दम्पतीले उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । महतरा दम्पतीले बिभिन्न अवसरमा पटक पटक आर्थिक, लत्ताकपडा, खाद्यान्न, तालिम लगायतको सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस