प्रदेशको गौरव सडक आयोजना, काम सुस्त

दाङ । घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि घोराही उपमहानगरपालिका–१६ सर्रा जोड्ने कुइरेपानी–सर्रा बाइपास सडक प्रदेशको गौरवको आयोजनाभित्र पर्छ । कनै समय घोराहीको रिङरोडभित्र पर्ने उक्त सडक प्रदेश सरकार स्थापना भएसँगै घोराही बजारमा सवारी जाम कम गर्ने उद्देश्य अनुसार प्रदेश सरकारले उक्त सडकलाई बाईपास सडकका रुपमा अघि बढायो । तर तीन बर्षअघि काम सुरु भएपनि सडक निर्माणको गति भने सुस्त छ ।

प्रदेश सरकारको गौरवको सडक आयोजनाका रुपमा रहे पनि बजेट अभावसँगै सडक बिस्तारको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अघि नबढ्दा सडक निर्माणले गति लिन सकेको छैन । बाईपास सडकको मुख्यद्वारमै जग्गा प्राप्त गर्न नसक्दा सडक निर्माणको काम सुस्त रहेको पूर्वाधार विकास कार्यालय घोराहीका सूचना अधिकारी चन्द्रबहादुर शाहले बताए । उनका अनुसार बाईपास सडकलाई घोराही–लमही सडकखण्डमा जोड्ने सडकको निकास टुंगो लाग्न सकेको छैन ।

मुख्यद्वारामा सडक टुंगो नलाग्दा सडक निर्माणको काम सुस्त बनेको हो । ‘बाईपास सडक निर्माणको लागि डिपिआर निर्माणदेखि सिस्ने खोलामा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्य खोलाहरुमा कल्भर्ट निर्माणदेखि ९ किलोमिटर सडकमध्ये ६ किलोमिटर ग्राभेल गर्ने भैसकेको छ’, सूचनाअधिकारी शाहले– ‘तर सडकको मुख्यखण्डमै जग्गा प्राप्त नहँुदा सडकको निकास जाम जस्तै भएको छ ।’ उनका अनुसार बाईपास सडकको प्रवेशद्वारमै पुल भएकाले सिधा जोड्न नबन्ने र सडक घुमाएर अन्यत्रबाट लग्दा व्यक्तिको जग्गा भएकाले सडक निर्माणमा समस्या भएको बताए ।

कुइरेपानीमा सडकलाई घोराही–लमही सडकखण्डमा जोड्नका लागि करिव २ सय ८० मिटरसम्म जग्गा खरिद गर्नुपर्ने भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । तर उक्त जग्गा निजी व्यक्तिको नाममा भएकाले समस्या भएको सूचना अधिकारी शाहले बताए । ‘जग्गा प्राप्तिका लागि स्थानीय सरकार, सम्बद्ध निकायसँग पटक–पटक छलफल भएको छ’, उनले भने– ‘तर निकास निस्कन सकेको छैन ।’ समस्या समाधानका लागि प्रदेश सरकारले घोराही उपमहानगरपालिकालाई पहल गरिदिन आग्रह गरे पनि समाधान हुन नसकेको बताए ।

सडक बिस्तारका लागि पहिलो वर्ष ६ किलोमिटर ग्राभेल गर्नेदेखि उक्त सडक खण्डका विभिन्न स्थानमा करिब ४२ वटा बक्स कल्भर्ट निर्माण गर्ने काम भएको कार्यालयले जनाएको छ । कोरोनाका कारण र जग्गा प्राप्तिमा समस्या भएपछि गत आर्थिक वर्षमा सो योजनामा बजेट खर्च हुन सकेन । आर्थिक वर्ष २०७५–०७६ मा सडकका लागि दश करोड रुपैयाँ छुट्याएको भए पनि करिब ६ करोड खर्च भएको कार्यालयले जनाएको छ ।

गतवर्ष सडकको डिपिआरलगायत अरु प्राविधिक काम सकिएको जानकारी गराउँदै सूचना अधिकारी शाहले भने जग्गा प्राप्तिको काम सकिएलगत्तै सडक बिस्तारको कामले गति लिने बताए । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको करिब ९ किलोमिटर कुइरेपानी–सर्रा बाईपास सडकका लागि कार्यालयले करिब ८० करोड लागत अनुमान गरिएको जनाएको छ । प्रदेश सरकारले यसआर्थिक बर्ष उक्त सडकका लागि १ करोड बजेट बिनियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस