राप्ती राजमार्गमा दुर्घटना नियन्त्रण गर्न टाइम कार्ड लागु

सल्यान । राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली ९टाइम कार्ड० कार्यान्वयनमा ल्याएको छ। राप्ती राजमार्गको दाङ कपुरकोट हुँदै रुकुम चल्ने गाडीमा समय निर्धारण गरिएको छ। टाइम कार्ड लिएका सवारीसाधनले प्रहरी चौकीमा अनिवार्य प्रवेश ९इन्ट्री० गराउनुपर्ने छ।

तोकिएको समयभन्दा छिटो पुगेमा यातायात नियमावली अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विकले बताए। प्रत्येक सवारीसाधनलाई एक एकवटा समय निर्धारण कार्ड वितरण गरिएको र सो कार्ड प्रहरी चौकीमा देखाई तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र नगराएका कानुनी कारबाही अघि बढाइने उनको भनाइ छ।

टाइम कार्ड लागु भएपछि सवारीसाधनको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी आउने र यात्रुलाई सडकमा यात्रा गर्न पनि सजिलो हुने विकले विश्वास व्यक्त गरे।

सडकमा सवारीसाधनको चाप बढ्दै जानु तथा सडकको अवस्था दर्दनाक भएका कारण दुर्घटना बढी रहेको र लेन अनुशासनको पालना पनि नहुँदा टाइम कार्ड लागु गरिएको प्रहरीको भनाइ छ।

यसअघि पनि सल्यानमा टाइम कार्ड लागु गरिएको थियो तर सम्बन्धित निकायको फितलो कार्यान्वयनका कारण रोकिएको थियो।

यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चालकसँगै १ मिनेट कार्यक्रम सञ्चालन गरेको छ। सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, अस्वस्थ गति प्रतिस्पर्धा नगर्न तथा सडक लेनको प्रयोगबारे चालकलाई सचेत बनाउने काम गरिएको छ। सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको प्रहरीको भनाइ छ। थाहा खबरबाट

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस