भोलि तुलसीपुर बजार बन्दको घोषणा

दाङ । आगामी पौष १ गते देखि १२ गते सम्म तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको विरोधमा मंगलबार २८ गते तुलसीपुर बजार बन्दको घोषणा गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घमा आबद्ध विभिन्न उपसमितिले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महोत्सवको विरोध स्वरूपमा तुलसीपुर बजार बन्द गर्ने जनाएका हुन् ।
तुलसीपुर चेम्बर अफ कमर्सले जबरजस्ती रुपमा आयोजना गर्न लागेको महोत्सवको विरोधमा तुलसीपुरका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिन बाध्य भएको विज्ञप्ति उल्लेख गरिएको छ । कोरोना महामारी कारण व्यापार व्यवसाय थला परेको समयमा महोत्सवले व्यापारीलाई झन मर्कामा पार्ने उनीहरूको ठहर छ ।
यता व्यापारीहरूको साझा संगठन तुलसीपुर चेम्बर अफ कमर्सले मंगलबार तुलसीपुर बजार बन्द नहुने स्पष्ट पारेको छ । चेम्बरको आयोजनामा पौष १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुन लागेको तुलसीपुर महोत्सवलाई अवरोध पु-याउन सङ्गठनका नाममा केही व्यक्तिहरूले बजार बन्द गर्ने अफवाह फैलाइएकोले भ्रममा नपर्न चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले आग्रह गरेका छन् ।
उनले सबैलाई निर्धक्क भएर आफ्नो व्यापार व्यवसाय तथा पसल खोल्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेका छन् । सर्वसाधारण नागरिकले स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट मेला, महोत्सवमा सस्तो मूल्यमा सामान किनमेल गर्न पाउने अधिकारलाई सम्मान गर्दै महोत्सवलाई सफल बनाउनका लागि सहयोग गर्न चेम्बरले आग्रह गरेको छ ।
देशका विभिन्न स्थानमा मेला, महोत्सव सञ्चालन भइरहेको र कतिपय स्थानमा सञ्चालनको तयारी भइरहेका बेला तुलसीपुरमा महोत्सव रोक्न खोज्नु दुर्भाग्य भएको चेम्बरका सचिव ऋषिराज भण्डारीले बताए ।
स्थानीय फेन्सी व्यवसायीलाई ५० प्रतिशत छुटमा रोजेको स्थानमा स्टल राखेर व्यवसाय गर्न पटक पटक आग्रह गरेपनि आफूले पनि नगर्ने र अरुलाई पनि व्यवसाय गर्न दिदैनौ भन्नु दुःखद भएको चेम्बरले बताएको छ ।