सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण

दाङ । दाङको भालुवाङमा निर्माण गरिएको शहीद कृष्णसेन इच्छुकको सालिक अनावरण गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शनिबार उक्त शालिकको अनावरण गरेका हुन् ।

राप्ती गाउँपालिका वडा नं. १ स्थित भालुवाङ बजारमा निर्माण गरिएको उक्त शालिकको अनावरण गर्नुहुँदै मुख्यमन्त्री केसीले कृष्णसेनले देखेका सपना पूरा गर्ने प्रतिबद्धता जनाए ।

कृष्णसेनले गरीब, दुःखीकालागि देखेका सपना पूरा गर्न अझै बाँकी रहेको उहाँले बताए । प्रदेश सरकारको ७ लाख ४० हजार लागत र बिभिन्न ब्यक्ती तथा संस्थाहरुबाट संकलन भएको २ लाख ९१ हजार पाँचसय ४० गरि १० लाखको लागतमा उक्त सालिक निर्माण गरिएको सालिक निर्माण समितिका संयोजक सूर्यप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार सालिकको निर्माण कार्य २०७५ बैशाख २५ गतेबाट सुरु भएको थियो ।

इच्छुकको २०५९ जेठ १३ गते नख्खु कारागार काठमाडौँमा हत्या गरिएको थियो । साहित्य र पत्रकारितामा सक्रिय रहेका उनी कम्युनिष्ट आन्दोलनमा सक्रिय भएको अबस्थामा हत्या भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस