प्रधानन्यायाधीश जबराको बर्हिगमनको माग गर्दै तुलसीपुरमा प्रदर्शन

दाङ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको माग गर्दै मानव अधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन् । ७३ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको शीघ्र राजीनामा बर्हिगमनको माग गर्दै अधिकारकर्मीहरूले प्रदर्शन गरेका हुन् ।

शुक्रबार बिहान तुलसीपुरमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले प्रधानन्यायाधीश जबराको अनैतिक कार्यका कारण स्वतन्त्र न्यायालय माथि अविश्वास बढ्ने बताए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कार्य समितिका वरिष्ठ उपसभापति सुशील बस्नेतले स्वतन्त्र न्यायालयमा भाग बन्डाको लेनदेन हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै प्रधानन्यायाधीश जबराको बर्हिगमनको माग गरे ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, उच्च अदालत बार एशोसियसन तुलसीपुरका अध्यक्ष पुष्कर भण्डारी, सामाजिक अभियन्ता टोपबहादुर महतरा, ज्येष्ठ नागरिकका खुमानन्द अधिकारी, अपाङ्गता भएका व्यक्ति यज्ञ बिक लगायतले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गरे ।

शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको विरोध प्रदर्शन पछिको कोण सभा कार्यक्रमको सहजीकरण सचिव निर्मला डिसीले गरेकी थिइन् । शान्ति समाजले विभिन्न जिल्लामा अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजिनामा र बर्हिगमनको माग गर्दै अधिकारकर्मीहरूले प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस