द्वन्द्वपीडितहरुका लागि नि:शुल्क स्वास्थ्य बीमा

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले जिल्लामै पहिलो पटक द्वन्द्वपीडितहरुका लागि निः शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । वडा कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बिमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले द्वन्द्वपीडितहरुका लागि स्वास्थ्य बिमाको उद्घाटन गरेका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको जनयुद्ध, जनआन्दोलनका सहिद, बेपत्ता, घाईते परिवारका लागि निः शुल्क स्वास्थ्य बिमा उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले द्वन्द्वको समयमा विभिन्न प्रकृतिका घटनाहरु भएको र ती घटनाका पीडितहरु अहिले पनि विभिन्न समस्याबाट ग्रसित रहेको बताए । सहिद परिवार, वेपत्ता र घाईते भएकाहरुले देखिने पिडा भए पनि अन्य द्वन्द्वको समयमा भएका यौजनजन्य हिंसाका घटना, यातनाका घटनाका पीडितहरु कागजी रुपमा पीडित नरहेको कारण आफुहरुलाई सम्पूर्ण द्वन्द्वपीडितहरुको लागि काम गर्न अप्ठेरो भएको बताए । घोराही उपमहानगरपालिकाले नगर भित्रका सम्पूर्ण द्वन्द्वपीडितहरुका लागि निः शुल्क स्वास्थ्य बिमा गराउने योजना रहेको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक बर्ष द्वन्द्वपीडितहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र यो चालुआर्थिक वर्षमा द्वन्द्वपीडितहरुका लागि निः शुल्क स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको बताए ।

उनले पहिलो चरणमा ३३ जना द्वन्द्वपीडितहरुको स्वास्थ्य बिमा गर्न लागिएको जानकारी दिए । साथै उनले वडामा बसोबास गर्ने द्वन्द्वपीडितहरुले घटना भएको खुल्ने कागजपत्र लिएर वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरे । स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गोपीलाल वलीले जिल्ला मै पहिलो पटक घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले द्वन्द्वपीडितहरुका लागि निः शुल्क स्वास्थ्य बिमा सुरु गरेको बताए । उनले स्वास्थ्य बिमा जनकल्याणकारी एवं सामाजिक साझेदारी कार्यक्रम भएको बताए ।

नेपाल सरकारको निर्देशन अनुसार जेष्ठ नागरिक, ‘क’ वर्गको अपांग भएका व्यक्तिको परिवार, एचआईभी एड्स भएका व्यक्तिको परिवार, गम्भीर खालको टिभी भएका व्यक्तिहरुका लागि स्वास्थ्य बीमा निः शुल्क भएको बताए । अति विपन्न र अति गरिब परिवारको लागि पनि निः शुल्क स्वास्थ्य बीमा रहेको तर दाङमा अति विपन्न र गरिबीहरुको परिचय पत्र नभएकाले लागु गर्न समस्या भएको बताए । असार मसान्तसम्म ५० प्रतिशन नागरिकहरु स्वास्थ्य बिमाको पँहुचमा ल्याउने लक्ष्य रहेको भन्दै यसमा जोडीन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरे ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले द्वन्द्वपिडीतहरुको पीडा महशुस गर्न नसकिने खालको भएको भन्दै ति पीडामा मह्लमपट्टी लगाउनका लागि घोराही उपमहानगरपालिका १७ ले सुरु गरेको निः शुल्क स्वास्थ्य बीमा प्रशंसायोग्य कार्य भएको बताए । उनले सरकारको नीतिका कारण केही वास्तविक द्वन्द्वपीडीतहरु पनि सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चीत हुनु परेको भन्दै त्यसमा स्थानीय सरकारले ध्यान दिन आवश्यक भएको बताए । साथै द्धन्दको समयमा हिंसा एवं यातनामा परेका महिलाहरुको कथा झनै दर्दनाक भएको भन्दै उनीहरुलाई पनि सरकारका कार्यक्रमले समेट्नुपर्ने उनको भनाई थियो ।

द्वन्द्वपीडीत साझा सञ्जालका अध्यक्ष प्रकाश चौधरीले सरकारको नीति र कागजी प्रक्रियाका कारण वास्तविक द्वन्द्वपीडीतहरु सरकारबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चीत भएको बताए । उनले स्थानीय सरकारले द्वन्द्वपीडीतहरुका लागि नीति नै बनाएर अगाडी बढ्न आवश्यक भएको बताए । वडा सदस्य रेवन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव मोहनसिंह सुनारले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस