१६ दिने अभियान सफल पार्न जिम्मेवारी समेत बाडफाड

दाङ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सफल पार्न बसेको सरोकारवालाको दोस्रो बैठकले राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ १६ दिने अभियान मनाउने निर्णय गरिएको छ । राप्ती गाउँपालिका क्षेत्रमा विभिन्न उद्देश्यका साथ काम गर्दै आएका संघसंस्था तथा कार्यालयहरुको संयुक्त बैठकले १६ दिने अभियान सफल पार्न जिम्मेवारीसमेत बाडफाड गरिएको छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षतामा बसेको संयुक्त बैठकले लैङ्गिक हिंसामा परेका परिवारका श्रीमान श्रीमति विच समविकास तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको सचेतना फैलाउन पोष्टर पम्पलेट वितरण गर्ने, राप्ती क्षेत्रका भालुवाङ, लालमटिया, सिसहनिया र पत्थरगढवा क्षेत्रमा सडक नाटक प्रदर्शन गर्ने निर्णय गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, नामसालिङ सामुदायिक विकास केन्द्र, प्रहरी, आर आर एन, सुहाआरा, पत्रकार, स्वतन्त्र नेपाल अपाङ संघका प्रतिनिधि विचको बैठकद्धारा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ ।
सरोकारवावा जगदम्वा कुमारी चौधरी, विश्वास विक, नारायण राउत, जिवन कुमारी चौधरी, दिपक बोहरा, जगविर चौधरी, गोमा पन्थी, देव प्रसाद चौधरी, नितु चौधरी, उसा चौधरी, धर्म यादव, दुखीराम सार्की, लक्ष्मी प्रसाद कडेल, सम्झना जिसी, सीता बस्नेत, नसिंरु द्धित शाह, ओम प्रकास गुप्ता लगायतको सहभागितामा संयुक्त बैठक बसिएको हो । बैठकमा हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, वडा कार्यालय, संघ संस्था, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
लैंगिक हिंसा के हो ?
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।
शारिरीक हिंसा
कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्दछन् ।
मानसिक हिंसा
शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।
सामाजिक साँस्कृतिक हिंसा
सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडि इत्यादि सामाजिक साँस्कृतिक हिंसा भित्र पर्दछन् ।
यौनिक वा यौन हिंसा
काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।
आर्थिक हिंसा
सगोल वा निजि सम्पतीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा बञ्चित गर्ने कार्यलाई जनाउँदछ ।