स्थानीय पालिकाबाटै मतदाता नामावली संकलन गरिदै

दाङ । दाङमा आउने निर्वाचनलाई लक्षित गरि स्थानीय पालिकाबाटै फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ । जिल्लाका १० पालिकाका नागरिकको पहुँच पुग्ने गरी स्थानीय पालिकाबाट मतदाता नामावली संकलन गरिने प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराइले जानकारी दिए ।
मंसिर १७ गतेबाट नामावली संकलनको कार्यक्रम सुरु हुने छ। जिल्लाका १० पालिका मध्येमा घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका बाहेक अन्य ७ वटै गाउँपालिका बाट नामावली संकलन गरिने भट्टराइले बताए । उनका अनुसार घोराहीमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नामावली संकलन हुने छ । त्यस्तै तुलसीपुर र लमहीमा भने इलाका प्रशासन कार्यालयबाट नामावली संकलन हुने भएकाले पालिकाबाट नामावली संकलन नगरिएको हो ।
अन्य ७ वटा पालिकामा भने दुई चरणमा गरी कार्यक्रम गरिने छ । बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुलीमा मंसिर १७ गतेदेखि पुष २ गतेसम्म र त्यसपछि कार्तिक ४ गतदेखि १८ गतेसम्म राजपुर, गढवा र राप्ती गाउँपालिकामा नामावली संकलन गरिने छ । मतदाता नामावली बनाउनका लागि नागरिकता आवश्यक पर्छ । यदि नागरिकताको ठेगाना भन्दा बाहिरको छ भने बसाई सराइको प्रमाण पत्र र यदि विवाह गरेर अन्य ठाउँमा गएको भए विवाह दर्ता आवश्यक पर्ने निमित्त प्रदेश निर्वाचन अधिकारी भट्टराइले जानकारी दिए ।
दाङमा आजसम्म३ लाख ७७ हजार ५ जना मतदाता रहेका छन् । जसमा १ लाख ९ हजार ८ सय ७५ महिला मतदाता छन् भने १ लाख ८६ हजार १ सय २८ जना पुरुष मतदाता छन् । २ जना तेस्रो लिंगी मतदाता रहेका छन् । अब हुने फोटोसहितको मतदाता नामावली संकलमा यसको १० प्रतिशत मतदाता बढ्ने आँकलन गरिएको छ ।
यो मतदाता नामावली संकलन दाङ जिल्ला मात्र नभएर देशभर सञ्चालन हुने कार्यक्रम हो । तराई र पहाडी क्षेत्रमा १० दिनसम्म यो नामावली संकलन गर्ने कार्यक्रम हुने छ भने तराई र भित्रि मधेरमा भने १५ दिनसम्म सञ्चालन हुने छ ।