निजी क्षेत्र विस्थापित हुने अवस्थामा : पूर्व अध्यक्ष ढकाल

दाङ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र विस्थापीत हुने अवस्थामा रहेको बताएका छन् । प्रदेश भरीका उद्योग वाणिज्य संघहरुको संस्थागत रणनीति विकास कार्यशाला गोष्ठीको दाङमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश को आयोजना तथा जिआइजेटको सहयोग एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघको आतिथ्यमा भएको हो ।

‘विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनले व्यवसायीहरु विस्थापित हुन थालेका छन्’, व्यवसायी नेता ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै भने । कोभिडले गर्दा बाहिरबाट आउने कच्चा पदार्थको मूल्यवृद्धि तथा बैक व्याज वृद्धिलगायतका समस्याले निजी क्षेत्र समस्यामा परेको उनले बताए । निजी क्षेत्र आफ्नो क्षेत्रमा भएका स्रोत साधनको उपयोग गरेर अगाडि बढ्न समेत उनले आग्रह गरे । ‘हामी आफ्नो स्थानमा भएका स्रोत साधनको उपयोग अगाडि बढ्औँ’, उनले भने । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न उनले आग्रह गरे ।

स्थानीयस्तरको स्रोतको परिचालन अगाडि बढेमा उक्त क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ रहेको छ । देशको आर्थिक विकासका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘कृषि क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्न आवश्यक रहेको छ’, उनले भने । निजी क्षेत्रमा राजनीतिकरण हुन नहुने उनको भनाइ रहेको थियो । ‘आर्थिक विकासका लागि अगाडि बढेको निजी क्षेत्रमा राजनीति हुन हँुदैन’, उनले भने । देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढिरहेको र आउँदा दिनमा पनि अगाडि बढिरहने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक विकासका लागि नीतिगत सुधार हुन आवश्यक रहेको बताए । ‘धेरै ऐन कानुन संशोधन हुन आवश्यक छ’ उनले भने । निजी क्षेत्रलाई अगाडि बढाउन र आर्थिक क्षेत्रको विकास गर्नका लागि करिव १ सय वटा जति ऐन, कानुन संशोधन हुनुपर्ने उनको भनाइ रहेको छ । ‘निजी क्षेत्रको लगानी भित्र्याउन पूर्वाधार विकास, लगानीमैत्री वातावरण हुन आवश्यक छ’, उनले भने । उचित वातावरण भएमा मात्र लगानी भित्रिने उनको भनाइ थियो ।

उद्योग वाणिज्य महासंघले व्यवसायीहरुलाई सचेत तथा क्षमता अभिबृद्धिका लागि छुट्टै पाठ्यक्रम निर्माण गरेर तालिम प्रदान गर्ने योजनामा रहेको बताए । यसका लागि तयारी समेत गर्ने थालिएको उनको भनाइ रहेको छ । यसले व्यवसायीहरुलाई व्यवसाय गर्दा सहजता हुने उनले बताए । बजारमा अनुगमन गर्ने जाने निकायलाई समेत तालिमको आवश्यक रहेको उनले बताए । ‘अनुगमन गर्न जानेलाई ऐन नियम कानुनका बारेमा तालिम दिन आवश्यक छ’, उनले भने । तालिम प्रदान नगरिँदा धेरै व्यवसायीहरुले समस्या भोग्नुपरेको उनको भनाइ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा महासंघको स्वास्थ्य सीप विकास समितिका हेमराज ढकालले देशमा आर्थिक मन्दीको संकेत आउन थालेको बताए । ‘आर्थिक क्षेत्रमा समस्या देखिन थालिसकेको छ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका लुम्विनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशभर रहेका उद्योग वाणिज्य संघहरुको संस्थागत विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको गोष्ठीको आयोजना गरिएको बताए । यसले संस्थालाई अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश उपाध्यक्ष बालबृष्ण सुवेदीले गरेका थिए । कार्यशाला गोष्ठी २ दिनसम्म सञ्चालन हुनेछ । गोष्ठीमा प्रदेशभरका उद्योग बाणिज्य संघका अध्यक्ष तथा अन्य पदाधिकारीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस