लैंगिकहिंसा बिरुद्धको कार्यक्रम तय

गढवा । देउखुरीको गढवा गाउँपालिकाले यहि मंसिर ९ गतेदेखि सुरु हुने लैंगिकहिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम तय गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ती चौधरी लगायतका जनप्रतिनिधि र गढवा गाउँपालिकामा कृयाशिल संघसंस्थाहरुको सहभागितामा कार्यक्रम तयार गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ ।

जस अनुसार आउँदो मंसिर ९ गते अर्थात् २५ नोभेम्बरका दिन गढवामा कृयाशिल १८ वटा संघसंस्थाहरु, कर्मचारी र जनप्रतिनिधीको उपस्थितीमा सन्देश प्रबाह गर्न गढवा बजारमा मार्चपाससहित परिक्रमा गरि दिप प्रज्ज्वलन गरिने भएको छ । दोश्रो चरणका कार्यक्रम अन्तरगत गढवाका सबै बिद्यालयहरु समेटिने गरि बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र आम बिद्यार्थीहरुमा सन्देश प्रबाहगर्ने कार्यक्रम रहेको महिला तथा वालवालिका शाखाका शुरेश पौढेलले जानकारी दिए । तेश्रो चरणमा वडा स्तरमा अन्तरक्रिया गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ ।

जसका लागि वडा नं. १ मा धानखोला कृषि सहकारी संस्थालाई जिम्मेवारी प्रदान गरिएको छ भने वडानं.२ र ३ को कार्यक्रमकालागि दक्षिण देउखुरी धिकार मञ्चलाई जिम्मोरी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नं. ४ र ५ मा सिपि नेपालले कार्यक्रम सम्पन्न गर्ने जिम्बेवारी लिएको छ भने वडा नं. ६ र ७ मा नेपाल रेडक्रस तथा नवस्वर्गद्धारी महिला सहकारी एवं देउखुरी सामुदायिक पुस्तकालय लगायतका संघसंस्थाहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी वडा नं. ८ मा शान्ती पुर्नस्थापना गृह कोइलाबासले जिम्मेवारी लिएको गाउँपालिकाले जनाएको छ ।
बिद्यालय स्तरीय कार्यक्रम अन्तर्गत १, २ र ३ वडाका सरकारी तथा निजी बिद्यालयहरुलाई समेटेर सरस्वती माध्यमिक बिद्यालय बिद्यानगर गोबरडिहामा बक्तृत्वकला प्रतियोगिता गरिने भएको छ भने ४ र ५ का बिद्यालयहरु समेटिने गरि माबि चैनपुरमा प्रतियोगिता आयोजना गरिने भएको छ । त्यस्तै वडानं. ६,७ र ८ लाई समेटेर जनता माध्यमिक बिद्यालय गढवामा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

सबै वडा स्तरीय कार्यक्रम सम्पन्न भै सकेपछि २४ मंसिरमा गढवामा समापन कार्यक्रम राखिने र सो अवसरका औपचारिक कार्यक्रमको आयोजना गरि ३ जना महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ । सोहि दिन बक्तृत्वकलामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस