कर्मचारीको बिदाई तथा सम्मान

गढवा । गढवा गाउँपालिकाले एक कार्यक्रमका बिच संघीय निर्वाचनको समय ताकाका प्रथम निमित्त कार्यकारी प्रमुख बुद्धिमान चौधरीलाई बिदाई तथा सम्मान गरेको छ । चौधरीले राष्ट्रसेवक कर्मचारीको रुपमा गढवा गाउँपालिकामा कार्यरत रहदै गर्दा निबृत्त हुने उमेरहद पुरा गरेकाले पालिकाले योगदानको कदर गर्दै सम्मान साथ बिदाई गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता तथा उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निबृत्त चौधरीको योगदानको बारेमा योजना शाखाका प्रमुख कुलराज कुमाल, पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी, स्वास्थ्यशाखा प्रमुख कैलाश चौधरी र कार्यपालिका सदस्य हेमन्ती कुमारी कुमालले बिदाई मन्तब्य राखेक थिए । सो कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सांसद रेवतीरमण शर्मा, मुख्यमन्त्री कार्यालयका सल्लाहकार अमरबहादुर डाँगी, नेकपा माओवादी केन्द्रका गढवा इन्चार्ज यमनारायण पोखे्रल र एमाले दाङका सदस्य रतनकुमार केसी लगायत कर्मचारी र जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

निबृत्त बुद्धिमान चौधरीले लामो समयसम्म साबिक चैलाही गाबिसमा सचिव रहेर काम गरेको र गढवा गाउँपालिकामा आएपछि कोइलाबास गाबिस, गोबरडिहा गाबिस, गंगापरस्पुर गाबिस र गढवा गाबिसमा सचिव रहेर काम गरेका थिए । संघीयताको कार्यान्वयनँंगै चौधरी गढवा गाउँपालिकाको प्रथम निमित्त कार्यकारी प्रमुखको भूमिकामा केही महिना काम गरेको र गढवा गाउँपालिकाको प्रशासन शाखा प्रमुख हुँदै जिन्सी शाखा प्रमुखमा काम गरेको कार्यक्रममा जानकारी गराइएको थियो । बिदाई कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस