दाङमा पूर्वजनमुक्ति सेना संघ गठन

दाङ । दाङमा पूर्वजनमुक्ति सेना संघ जिल्ला तदर्थ समिति गठन गरिएको छ । बिहीबार भएको जिल्ला भेलाबाट पूर्वजनमुक्ति सेनाका डिभिजन सहायक कमान्डर हरिमान पुन ‘बरुण’ को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
पूर्व डिभिजन सहायक कमान्डर बरुण, पूर्व ब्रिगेड सहायक कमान्डरहरू तुलसी डाँगी ‘मिलन’ र निर्मल महरा ‘एटम’को संयोजनमा भएको भेलामा १३६ जना पूर्वजनमुक्ति सेनाको सहभागिता रहेको थियो । जिल्लाका दशवटै पालिकालाई समेट्ने गरी तदर्थ समिति गठन गरिएको संघले जनाएको छ ।
बरुणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले नेपालमा गणतन्त्रका ल्याउने प्रमुख हिस्सेदार शक्ति नै जनमुक्ति सेना भएकाले पूर्वजनमुक्ति सेनाहरू इतिहासको गौरवशाली सम्पत्ति भएको बताए ।
उनले अब पनि समाजवादी क्रान्तिकारी लागि पूर्व जनमुक्ति सेनाहरूको योगदान जरुरी रहेको भन्दै उनीहरूलाई नयाँ ढंगबाट सङ्गठित गरेर जानु आवश्यक रहेको बताए । विशिष्ट अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले अब समाजवादी क्रान्तिको कार्यदिशा ठोस हुँदै गएकाले यसमा पूर्वजनमुक्ति सेनाले पनि पुनः योगदान दिनुपर्ने समय आएको बताए ।
उनले इतिहासको गौरव र भविष्यको सपनाबीच तालमेल जरुरी रहेको पनि बताए । भेलाले स्थानीयस्तरमा सङ्गठनसँगै उत्पादन समूहहरू बनाएर जनमुक्ति सेनाहरूलाई सङ्गठित उत्पादन जोड्ने नीति पारित गरेको छ । जनमुक्ति सेनाको इतिहासको पहिचान र सम्मानका लागि पनि आवश्यक काम गर्ने नीति पारित गरिएको छ ।
पूर्व ब्रिगेड कमान्डर डाँगीले सांगठनिक तथा नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए । जनमुक्ति सेनाका पूर्व बिग्रेड भिसी दीपेन्द्र घर्ती र निर्मल महराले स्वागत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीराम पुन सुवास, घोराही इन्चार्ज भीमकुमारी बाँठा लगायतको उपस्थिति रहेको थियो ।
शान्ति प्रक्रियापछि दाङमा दुई हजार एक सय पूर्वजनमुक्ति सेना रहे पनि हाल एक हजार छ सय पूर्वजनमुक्ति सेना रहँदै आएका छन् । त्यसमा झण्डै चार सय बिदेश छन् भने तीन सय जति बिभिन्न ब्यापारमा जोडिएका छन् । बाँकी कृषि र सामान्य व्यवसाय तथा केही राजनीतिमा सक्रिय रहेको पूर्वकमान्डर डाँगीले बताए ।