राष्ट्रिय जनगणना : पहिलो दिनमै १५ लाखको गणना

काठमाण्डौं । राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ । पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । सुरुकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण सङ्कलन गरेका थिए । विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई बताए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो । जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गरेका थिए। यसैगरी गणकले सोधेका प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना–२०७८ को सफलताको शुभकामना दिए। उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे।
प्रदेशस्तरमा खटिएका गणक र सुपरिवेक्षकले पनि सम्बन्धित प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पालिकाका प्रमुखको विवरण सङ्कलन गरेर जनगणना सुरु गरिएको विभागले जनाएको छ । जनगणनालाई राष्ट्रिय अभियानका रूपमा शुभारम्भ भएको सकारात्मक सन्देश प्रवाह गर्न विभागले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रदेश र स्थानीय तहका प्रमुखहरूको विवरण सङ्कलन गरिएको जानकारी विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जानकारी दिए ।
यसैगरी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीले राष्ट्रिय जनगणना–२०७८ को भिडियो सन्देश जारी गर्दै देश विकासका लागि अत्यावश्यक पर्ने जनगणनामा सबैले गणकले सोधेका प्रश्नको उत्तर दिएर सहयोग गर्न आग्रह गरे ।
जनगणनाका लागि देशैभर ७५३ वटा स्थानीय तहका छ हजार ७४२ वटै वडामा गरी ३९ हजार जना गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्य क्षेत्रमा खटिएका छन् । पाँच जना गणकलाई एक जना सुपरिवेक्षकले यस अगाडि गरिएको घर तथा घरपरिवारको सूचीकरणको फारम र नक्सा प्रदान गरेर अनुगमन, समन्वय र सहजीकरण गरिरहेका छन् ।
त्यस्तै गणकलाई सुपरिवेक्षक, सुपरिवेक्षकलाई स्थानीय जनगणना अधिकारी र स्थानीय जनगणना अधिकारीलाई जिल्ला तथा प्रदेश जनगणना अधिकारी र जिल्ला र प्रदेश जनगणना अधिकारीलाई तथ्याङ्क विभागले आवश्यक सहयोग र समन्वय गरिरहेको जनाइएको छ ।जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । यस वर्ष जनगणनाका लागि काठमाडौँ महानगरपालिकासहित काठमाडौँका छवटा स्थानीय तहमा प्रविधियुक्त (ट्याबलेट)को प्रयोग गरिएको विभागले जनाएको छ ।
उनका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । त्यसकै आधारमा हाल जनगणना गरिएको छ । यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ । राष्ट्रिय जनगणना–२०७८ नेपालमा १२औँ जनगणना हो । पहिलो पटक १९६८ सालमा चन्द्रशमशेरको पालमा पहिलो जनगणना भएको थियो ।
२०७८ सालमा जारी जनगणनामा तीन करोडभन्दा बढी जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनसम्म गरिएको जनगणनाको प्रारम्भिक विवरण आउन कम्तीमा तीन महिना र पूरै विवरण आउन छदेखि नौ महिना लाग्ने जनाइएको छ । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ ।
जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्च‘लाको लिम्पियाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ । यसैबीच विभिन्न राजनीतिक दलका नेताहरूले अलग अलग वक्तव्य जारी गरेर जनगणनालाई सफल बनाउन देशवासीसँग गरेका छन्। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार नै छुुट्टाछुुट्टै वक्तव्य जारी गरेर सही विवरण उपलब्ध गराउन सबै देशवासीसँग आग्रह गरेका छन्।
यस्तै नेपाल आदिवासी जनजाति महासङ्घले विज्ञप्ति जारी गर्दै सही तथ्याङ्क बनाउन सक्रिय हुनु आवश्यक रहेको जनाएको छ । महासङ्घले यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकारले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलताअनुसारको जनगणना बनाऔँ, यसका लागि अबको १५ दिन जागरूक रहौँ भन्ने आग्रह पनि गरेको छ ।-नगेन्द्र देवकोटा/गोराखापत्र अनलाइन