उपमहानगरले २५ करोड ऋण लिएर बहुउयोगी व्यापारिक कम्प्लेक्स बनाउँदै

दाङ ।  तुलसीपुरमा बहुउयोगी व्यापारिक कम्प्लेक्स भवन निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले बहुउपयोगी व्यापारिक कम्प्लेक्स भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । कम्प्लेक्स निर्माणका लागि टेन्डर आव्हान भएसँगै लामो समयदेखि तुलसीपुरमा टावर निर्माण गर्ने सपना पुरा हुने भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै जोडदारका साथमा टावर निर्माणको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘विभिन्न चरणमा टावर निर्माणका लागि छलफल भएर अन्ततः पुरा हुने भएको छ ‘ नगरप्रमुख पाण्डेले भने । उनले टावर तुलसीपुरको पहिचानका रुपमा मात्रै नभएर यहाँको व्यवसायका लागि फलदायी सावित हुने विश्वास व्यक्त गरे ।

नगर विकास कोषको ऋण सहयोगमा २५ करोडको लागतमा उपमहानगरपालिकाले टावर निर्माणका लागि टेन्डर आव्हान गरेको इन्जिनियर पवन योगीले जानकारी दिए । उनले मंसिर १६ गतेसम्मको समय तोकिएको पनि बताए । उपमहानगरपालिकाको भवनदेखि उत्तरतर्फ निर्माण हुने टावर ६ तलाको हुने पनि इन्जिनियर योगीले जानकारी दिए ।

६ तलाको टावरको सबैभन्दा माथि तुलसीपुरको पहिचानका रुपमा कलात्मक रुपले टि लेखिने पनि नगरप्रमुख पाण्डेले बताए । पसलको प्रकृति र आवश्यकता अनुसार कोठाको संरचना पनि तयार हुने इन्जिनियर योगीले बताए । भवन ३ वर्षभित्रमा निर्माण भइसक्नेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस