सल्यानमा बस दुर्घटना अपडेट : १२ को मृत्यु, ८ जनाको सनाखत

दाङ । सल्यानमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै ६ जना र अन्य ६ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । मृतक मध्ये २ बालबालिका सहित अधिकाँस महिला रहेका छन् ।
मृतक मध्य ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका १२ हाल तुलसीपुर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ की ६१ वर्षीया मिना डाँगी, वडा नं. ३ की ६६ वर्षीया लिला बुढाथोकी, दाङ बबई गाउँपालिका ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पंचकुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका १० नारायणपुर की ६५ वर्षीया इन्द्रा अधिकार, सल्यानको त्रिवेणी गाउँपालिका १ काभ्राकी २४ वर्षीया मिना शाही र सल्यान छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ । बसमा ३० जना सवार थिए । बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सल्यानको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार दिउँसो दुर्घटना भएको हो । दुर्घटना तिव्रगतिका कारण भएको हुनसक्ने प्रहरीले अनुमान गरेको बताईएको छ । बस चालक भने फरार रहेका छन् ।