बार्षिक साधारणसभाको तयारीमा गढवा उद्योग बाणिज्य संघ
देउखुरी । गढवा उद्योग बाणिज्य संघले यहि मंसिर १८ का दिन छैठौं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । संघको सोमवार गढवामा सम्पन्न बैठकले साधारणसभा सम्पन्न गर्नका लागि बिभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गरेको बैठकपछि अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिए ।
बैठकले उद्योग बाणिज्य संघ गढवा र होटल बयवसायी संघ गढवाको संयुक्त पहल तथा वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालको सकृयतामा वडा कार्यालयको बजेटबाट हालै गढवा बजारक्षेत्रका चारैतर्फ जडान गरिएका सडक बत्तीको महसुल निर्धारणका लागि आगामी मंसिर ४ गते शनिबार सम्बन्धित क्षेत्रका ब्यवसायीहरुलाई आमन्त्रण गरि बैठक बस्ने निर्णय गरेको छ । यसैगरी संस्थालाई जिल्ला प्रशासन कार्यालय दाङमा नविकरण गर्ने र सबै रिपोर्टहरु अद्यावधिक गरि साधारणसभा सम्पन्न गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
संघको आव्हानमा चाडपर्व लक्षित गरि कार्यक्षेत्र भित्र रहेका बजारहरु मंसिर १ देखि ३ सम्म अनुगमन गर्ने,ब्यवसाय दर्ता तथा नविकरण गर्न सचेतना प्रबाह गर्ने निर्णय समेत गरेको छ । बजार अनुगमनका लागि पनि जिम्मेवारी बाँडफाँड गरिएको छ । संघको छैठौं बार्षिक साधारणसभा सफल पार्नका लागि मंच ब्यवस्थापन,अतिथी सत्कार,खाजा नास्ता ब्यवस्थापन, ब्यानर, ब्याच, फूलमाला ब्यवस्थापन, आर्थिक तथा संस्थागत प्रतिवेदन तयारी तथा प्रचार प्रसार, अतिथि आमन्त्रण र पत्राचारका लागि संघका बिभिन्न पदाधिकारीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको संघका अध्यक्ष खिम बुढामगरले जानकारी दिए ।