घोराहीले फोहोर किन्दै, तुलसीपुरले पुर्दै

दाङ ।   घोराही १५ का स्थानीय भिमबहादुर पुनले पहिला सबै फोहरहरू उपमहानगरको फोहोर बोक्न गाडीमा हाल्थे । कोही फोहर जलाएर नष्ट गर्दथे । तर, गत वर्षदेखि उपमहानगरले नगल्ने फोहोर किन्न शुरु गरेपछि अहिले बेच्दै आएका छन् । उपमहानगरले फोहोर किन्दा आफूहरूको ठाउँ पनि सफा हुने र पैसा पनि आउने भएकाले अहिले सबैले यसरी नै फोहोरको वर्गीकरण गरेर राख्ने र उपमहानगरलाई बच्ने गरेको उनले सुनाए । ‘यो उपमहानगरको काम एकदमै राम्रो हो ।

यो पहिला नै हुनु पर्ने थियो,‘ उनले भने,‘ तर, गत वर्षदेखि शुरु भएको छ । हामीले यो कार्यले धेरै फाइदा गरेको छ । एकातिर गल्ने र नगल्ने फोहोर छुट्टाएर राख्छौँ । गल्ने फोहोरलाई उपमहानगरको गाडीमा हाल्छौँ । नगल्नेलाई उपमहानगरलाई बिक्री गर्दै आएका छौँ ।’ दाङमा मुख्य बजार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरमा करिब ५० टन दैनिक फोहोर उत्पादन हुने गर्दछ । घोराहीले मोहरमा बदल्नको लागि फोहोरबाट ग्यास उत्पादन देखि नगरबासीसँग नगदले फोहोर किन्दै आएको छ ।

त्यस्तै तुलसीपुरले भने दैनिक रुपमा उत्पादन भएको फोहोर खाडलमा पुर्दै आएको छ । घोराहीले प्रतिकिलो २ देखि २० रुपैयाँमा फोहोर किन्दै आएको छ, भने गल्ने जैविक फोहोरबाट २ हजार घनमिटरको बायो ग्यास उत्पादन गर्ने तयारी अन्तिममा पुगेको छ । गल्ने जैविक फोहोरबाट भने बायो ग्यास उत्पादनका लागि उपमहानगरपालिका र नेपाल उर्जा विकास कम्पनी बीच सम्झौता भइ घोराही १६ करौती डाँडाको २ बिघा १२ कठ्ठा जग्गामा ग्यास उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपमहानगरको वातावरण सरसफाइ तथा विपद व्यवस्थापन समितका संयोजक शक्ति राम डाँगीले बताए ।

उपमहानगरको पहिलो प्राथामिकतामा सरसफाइ कुरालाई राखेको उनको भनाइ छ । उनका अनुसार उपमहानगरले गत वर्षदेखि कपडा देखि प्लास्टिक सम्म नलग्ने फोहरहरू खरिद गर्दै आइरहेको छ । नरम खालेको प्लाष्टिकलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको समेत उनको भनाइ छ । त्यस्तै सफा हुनु पर्ने र नच्यातिएको हुने पर्ने समेत उनले बताए । उनले भने,‘ यदि उपमहानगरका नागरिकहरूले सम्मानित र स्वाभिमानी हुन, पर्यटन र विकासका कुरा गर्ने हो ? भने सरसफाइका आनी बानीहरू मुख्य सूचक हुन् ।

पूर्ण सरसफाइका ७ वटा सूचकहरू पुरा गरेमा नगरलाई पूर्ण सरसफाइ घोषणा गर्न सकिने । त्यसमा सबैले साथ र सहयोग गर्नुपर्छ । उपमहानगरले मात्रा गरेर हुँदैन् ।’ त्यस्तै उपमहानगरले गल्ने फोहोरबाट बायो ग्यास उद्योग निर्माण गरेको छ । २० वर्ष सम्म निजी कम्पनीकै स्वामित्वमा रहने र त्यसपछि उपमहानगरपालिकाले लिने छ । हाल वडा नं. १० र १६ नम्बर वडाका नागरिकहरूलाई घरमा पाइप लाइन बाट ग्यास वितरण गर्ने लक्ष्य लिइएको उपमहानगरले जनाएको छ ।

दैनिक २ हजार घनमिटर बायो ग्यास उत्पादन हुने निर्माण कम्पनीले जनाएको छ । उद्योगलाई दैनिक २५ देखि ३० टन जैविक फोहोर आवश्यक पर्ने र करिब पन्ध्र सय घरमा ग्यासको पाइप लाइन पुग्ने नेपाल उर्जा विकास कम्पनी प्रालिका व्यवस्थापक हरिशरण श्रेष्ठले बताए । उनका अनुसार उत्पादन भएको ग्यास बजारमा पाइने ग्यास भन्दा करिब ३ सय रुपैयाँसम्म सस्तो पर्ने छ । उनले भने,‘ ग्यास हामीले पाइप लाइनबाट घरमा जोडि दिन्छौँ । उपभोक्ताहरुले कति प्रयोग गर्नु हुन्छ । त्यही अनुसारले पैसा लाग्ने छ ।

हामीले उनीहरुको घरमा मिटर जडान गर्ने छौँ । त्यहि अनुसार उपभोग गरेको अनुसार महशुल लाग्ने छ ।’ बायो ग्यास उद्योग निर्माणका लागि १९ करोड ८५ लाख खर्च अनुमान गरिएको थियो । तर, घर घरमै ग्यासको पाइपललाई पुर्याउँदा थप २ करोड रुपैयाँ लागत थपिएको कम्पनीले जनाएको छ । उपमहानगरपालिकाको प्राविधिक सहयोग भैरहेको उद्योग निर्माणकार्यमा सबै लगानी कम्पनीले गरिरहेको छ । सम्पुर्ण निर्माण भए पश्चात बैकल्पिक उर्जा मार्फत विश्व बैंकले कुल लागतको ४० प्रतिशत अनुदान दिने सम्झौता भएको कम्पनीले जनाएको छ ।

जैविक फोहोरबाट ग्यास उद्योग सञ्चालनमा आउन लागेको नेपालमै पहिलो भएको कम्पनीको दावी छ । मुलुकका ठुला शहरमा समेत फोहोर व्यवस्थापन टाउको दुखाइ बनिरहेको बेलामा दाङमा भने फोहोरबाट ग्यास उत्पादन गर्ने कार्य अन्तिम चरण पुगेको छ । यता तुलसीपुर उपमहानगरले भने दैनिक रुपमा उत्पादन भएको फोहोर खाडलमा पुर्दै आएको छ । तुलसीपुर ६ र १२ वडामो सिमानामा रहेको भञ्ज्याङमा दैनिक २२ देखि २४ टन फोहोर उपमहानगर पुर्दै आएको सरसफाइ व्यवस्थापन शाखाका सहायक अधिकृत खेमकान्त पाण्डेले जानकारी दिए ।

४ वटा टोलहरुको समन्वयमा त्यहाँ फोहोर व्यवस्थापन गर्दै आएको र टोलका नागरिकहरूलाई फोहोरबाट कुनै पनि समस्या नहोस् भनेर एक जना व्यक्तिलाई राखेर दैनिक रुपमा औषधि छिट्ने गरेको समेत उनले बताए । उपमहानगरले २ सिफ्टमा फोहोर उठाउँदै आएको र ४ वटा गाडीहरु रहेको उनले बताए । त्यस्तै तुलसीपुरमा रहेको मासु मार्केटमा भने त्यहाँबाट उत्पादन भएको गल्ने फोहरबाट ग्यास उत्पादन गरेर मासु मार्केटमा ग्यास वितरण गरेको समेत उनको भनाइ छ ।

तुलसीपुरमा फोहोर व्यवस्थापनको लागि दैनिक ज्यालामा ६५ जना कर्मचारीहरु खट्ने गरेका छन् । तुलसीपुर ६ निवासी हुकुमी भन्डारीको घर फोहर ब्यवस्थापन गर्ने ठाउँदेखि करिब एक सय मिटरमा छ । तर, उनले फोहोर खाडलमा पुर्ने भएयता पनि दुर्गन्ध हुने गरेको बताइन् । उनले करिब ३ वर्षदेखि उपमहानगरले त्यस ठाउँमा फोहर व्यवस्थापन गर्दै आइरहेको भन्दै विहान र दिउँसो उपमहानगरले फोहोर ल्याउन र साँझ पुर्ने गर्दा दुर्गन्ध आइरहने बताइन् ।

त्यस्तै उनले हावा लागेको बेला फोहरहरू उडाउने गरेको समेत बताइन् । त्यस्तै सोही ठाउँका घनश्याम बिकले विकास लागि आफूहरु दुर्गन्ध सहदै आइरहेको बताए । उनका अनुसार उपमहानगरपालिकाले त्यस ठाउँमा फोहोर व्यवस्थापन गर्न थालेपछि करिब ८ मिटरको पक्कि सडक बनेको समेत बताए ।

‘ हामीले करिब ३ वर्षदेखि फोहरको दुर्गन्ध सहदै आएको छौँ,’ उनले भने,‘ फोहोर व्यवस्थापन गर्ने ठाउँमा ठुलो चिरो छ । अहिले त्यो पनि पुरिदै समथल बन्दै गएको छ । उपमहानगर यहाँ सम्म फोहोर ल्याउनको लागि हाम्रो टोलमा करिब ८ मिटर पक्कि सडक बनाएको छ । यदि यो ठाउँमा फोहोर व्यवस्थापन नभएको भए । हाम्रो ठाउँमा पक्कि सडक कहिले पनि बन्दैन्थ्यो ।’

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस