बाढी-पहिरोबाट मृतकको संख्या ५२ पुग्यो, ३० बेपत्ता

काठमाडौं । आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परेर ३० जना हराइरहेका छन् ।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६र६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता भएका छन् । साथै प्युठानमा दुई जना र इलाममा पाँच जना बेपत्ता भएका छन् ।

बाढी, पहिरो र डुबानमा परेर विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभएको छ ।

प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस