चार बर्षमा फेरिएको देउखुरीको गढवा

देउखुरी । कुनैबेला दाङको दक्षिण देउखुरी बिकासका दृष्टिले निकै पछाडी मानिन्थ्यो । राजपुर, बेला, गढवा, गंगापरस्पुर, गोबरडिहा र कोइलाबास गरि ६ वटा साबिकका गाबिसहरु दक्षिण देउखुरीका भूगोल हुन् । राज्यको पुर्नसंरचनासँगै राजपुर र बेला मिलेर हाल राजपुर गाबिस बनेको छ भने बाँकी साबिकका चार गाबिसहरु मिलेर गढवा गाउँपालिका बनेको छ ।
बिगत चारबर्ष पहिलेको गढवा र हालको गढवामा भौतिक बिकासका हिसाबले काफि परिवर्तन भएको पाइन्छ । कुनैबेला दाङको श्रृलंका भनेर ब्यङ्य गरिने यस क्षेत्रको मुहार अहिले निकै फेरिएको छ । पुर्वमा कपिलबस्तु र अर्घाखाचीसंग जोडिएको धानखोला तथा जुरौनी पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा राप्ती नदी र दक्षिणमा भारतसंग सिमाना जोडिएका कोइलाबास, मुसी, खबरी, घङराल, भौरीसाललगायतका नाकाहरु गढवा गाउँपालिकाका सिमाना रहेका छन् । यस गाउँपालिकामा कुल आठवटा वडाहरु छन् ।
चारबर्षको अवधिमा केन्द्र, प्रदेश र स्थानीय सरकारको पहलमा गढवा गाउँपालिकाले बिकासका दृष्टिले निकै फड्को मारेको पाइएको छ । बहुप्रतिक्षित लमही कोइलाबास सडक निर्माणले सार्थकता पाएको छ भने कालाकाटे–गढवा–राजपुर हुँदै नेपालगंज जोड्ने हुलाकी सडक निर्माणको काम तिब्र गतिमा रहेको छ । कोइलाबासको मुसीनाका र खबरी नाकाका बस्तिहरु अध्यारोमा थिए । हाल गाउँपालिकाको बजेटबाट ति नाकाहरुमा बिजुलीबत्तीको पहुँच पुगेको छ । बिपद्को उच्च जोखिममा रहेको गढवा गाउँपालिकाले यो अबधिमा सर्पदंश उपचार केन्द्रको भवन बनाएर सेवा सुचारु गरेको छ भने दमकल खरिद गरेर सेवा सुचारु गरेको छ । गाउँपालिकाले सुविधा सम्पन्न तिनतल्ले सुविधासम्पन्न प्रशासकीय भवन तयार गरि सेवा सुरु गरेको छ भने वडा नं. १, ३, ५ र ७ का वडा कार्यालय भवनहरु निर्माणगरि सेवा संचालन गरेको छ । गढवा बजारको वडा नं. ६ मा गाउँपालिकाले ११ वटा सटरहरु निर्माण गरि नियमित आम्दानीको स्रोतका रुपमा बाहालमा लगाएको छ ।
शिक्षाको क्षेत्रमा यस पालिकाले सबैजसो सरकारी बिद्यालयहरुमा निजी स्रोतका शिक्षकहरुलाई ब्यवस्थापन गर्न सुरु गरेको छ भने वालबिकास सहजकर्ताहरुलाई संघ सरकारले उपलब्ध गराएको तलबमा ७ हजार थप गरि १५ हजार पुर्याएको छ । जिर्ण भएको पचहिया माबिले भौतिक निर्माणबाट मुहार फेरेको छ भने अन्य विद्यालयहरुमा पनि भौतिक बिकास र शैक्षिक सुधारका कार्यक्रमहरु कार्यान्वयन भै रहेका छन् ।
राप्ती प्राविधिक शिक्षलयलाई गढवामा स्थानान्तरण गर्ने निर्णय सँगै सरस्वती माबि गोबरडिहामा १ करोडको लगानीमा गाउँपालिकाले भौतिक निर्माणको काम सुरु गरेको पाइएको छ । सबै बिद्यालयहरुमा बिद्युतिय हाजिरी जडान भएका छन् भने पुस्तकालय र इण्टरनेटको ब्यवस्थापनमा काम अगाडी बढाइएको छ ।
यो अवधिमा कोइलाबास र कोठरीमा नेपाल टेलिकमका टावर निर्माण भएका छन् भने अन्य आवश्यक स्थानहरुका मनिकापुर कक्रहवा र खबरीनाकाका लागि पहल भै रहेको पालीकाले जनाएको छ । सबै वडाहरुमा स्वास्थ्य इकाइहरु स्थापना भै संचालनमा आएका छन् भने गढवाको स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पताल बनाउने गृहकार्यको डिपिआर पूरा भै सकेको छ । गढवाको स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टर राखि सेवा संचालन गरिएको छ भने सबै स्वास्थ्यचौकीमा ल्यावसहित २४ घण्टे प्रसुति सेवा र सुत्केरीहरुलाई निःशुल्क एमबुलेन्स सेवा सुचारु गरिएको छ ।
नेपाल सरकारले प्रदान गर्दै आएको सुत्केरी पोषण भत्तालाई स्थानीय सरकारले ३१ सय थप गरि ५ हजार पुर्याएको छ । प्रत्येक वडाहरुमा हरित पार्क निर्माणको काम कार्यान्वयनमा लम्किरहेको र सबैजसो वडाहरुमा महिला भवनहरु निर्माण भएका छन् । कोइलाबासमा आँखा अस्पताल र भ्युटावर निर्माण भै संचालनमा आएका छन् भने मुसीनाका र खबरी नाकामा बिओपि भवन निर्माण सँगै त्यहाँ पुग्ने सडकका टे«याक समेत खोलिएका छन् ।
वडा नं.२ को पचहियामा रिङरोड कालोपत्रे, जुरौनी, गोबिन्दनगर–पर्सेनी, चैनपुर र बुद्धज्योति रोड कालोपत्रेका काम सुरुवात गरिएको छ । केन्द्र सरकारको बजेटबाट गढवाका वडा नं. ६ र ७ का हाँसीपुर, वालापुर, रामपुर, बालाखुटी, घोराहा, सेम्री, मानपुरलगायतका गाउँहरुमा सडक कालोपत्रे भै सकेको छ । गाउँपालिकाले फोहर ब्यवस्थापन गर्न ल्याण्डफिल साइट निर्माण गरि टे«याक्टर परिचालन गरेको छ भने सेफ्टी टैंकी सफागर्ने सेवा र जग्गा नापि गर्ने सेवा समेत प्रवाह गरेको छ ।
सबै वडाहरुका भित्री सडकमा पक्किनाली तथा ग्राभेल, नदी कटानको जोखिम न्यूनिकरण गर्न बिभिन्न स्थानहरुमा तटबन्धन, सबैजसो वडाहरुमा खानेपानी कार्यालयसंगको समन्वय सहकार्यमा खानेपानी आयोजना निर्माण संचालन, किसानहरुलाई मलखाद तथा अनुदानका बिऊ बिजन एवं कृषि औजार वितरण,माटो परिक्षण, उर्वराशक्ति मापनसहितको नक्सा सार्बजनिक र कृषि तथा पशु प्रबर्धनका कामहरु संचालन भै रहेको गाउँपालिकाले जनाएको छ । छाडा पशुचौपायाको नियन्त्रण गर्न गौशाला बनाई ३ जना कर्मचारी राखेर ब्यवस्तापनको कार्य गरिरहेको छ । लापा कार्यक्रम र गाउँपालिकाको संयुक्त लगानीबाट हडैया बुटेनी पक्किनाली,कक्रहवा र कोइलाबास खोलामा चेक ड्याम्प निर्माण, सिंचाई कुलो तथा विभिन्न स्थानहरुमा तटबन्धनका कामहरु सम्पन्न भएका छन् भने आम्दा नेपालसंगको समन्वय सहकार्यमा कालाकाटे, चिमचिमे, महदेवा, गोबरडिहा, कक्रहवा, खबरीखटी, मुुसीनाका र खबरी नाकामा करोडौकोलागतमा सामुदायिक स्वास्थ्य इकाई तथा गाउँघर क्लिनीक भवनहरु निर्माण गरिएका छन् ।
नेपाल रेडक्रस संगको समन्वय सहकार्यमा बिपद् ब्यवस्थापन सुरक्षित आवास, सर्पदंशमा भेण्टिलेटर, जनशक्ति उत्पादन, जिविकोपार्जन, खानेपानी स्वच्छता तथा सरसफाई र बिपद् प्रतिकार्यका बिभिन्न कृयाकलापहरु संचालन भै रहेका छन् । गाउँपालिकाको पञ्चबर्षिय योजना सहितको प्रोफाईल तयार गरेको छ भने दुइ दर्जनबढी ऐन, कानून, नियम, निर्देशिका र कार्यबिधिहरु निर्माण र कार्यान्वयन, कला संस्कृत र सम्पदाहरु झल्कीने गाउँपालिकाको सबै भूगोलको डकुमेण्ट्रि निर्माण, न्यायिक समितिद्वारा नियमित न्याय सम्पादन, अपांगता परिचय पत्र वितरण, कोभिड महामारी रोक्न क्वारेण्टाइन, आइसुलेशन र राहात वितरणका कार्यक्रमहरु भएका छन् । सरकारको मुख्यमन्त्री ग्रामिण बिकास र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बिभिन्न रोजगारमुलक कार्यक्रमहरु संचालन भएका छन् ।
यसैगरि गाउँपालिकाले सभाहल, कोसेलीघर, कालाकाटे र गढवामा वसपार्क निर्माण र ब्यवस्थापन, थारु कुमाल समुदायलाई माटोका भाँडा बनाउने आधुनिक भट्टी निर्माण, लोकसेवा आयोगका कक्षा संचालन, विभिन्न सीपमुलक तालिमहरु संचालन गरि रोजगार प्रबर्धनका कार्यहरु संचालन गरेको छ । सुरक्षित आवास अन्तर्गत २२४ घरधुरीलाई जस्तापाता वितरणको काम अगाडी बढाइएको र जनता आवास तथा मुख्यमन्त्री कार्यक्रम मार्फत १४ जना अति अशक्त, बिपन्न र दलित नागरिकको आवास निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
यसबाहेक राष्ट्रिय गौरबको आयोजना कालाकाटे गढवा सिक्टा बड्कापथ सिंचाई आयोजनालाई अगाडी बढाउन पालिकाले समन्वय र सहकार्य अगाडी बढाएको छ भने भूमिहिन सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न लगत संकलन गरि लगत प्रबिष्टको कामसहित वडानं.१ बाट जग्गाहरुको नाप नक्सा गर्ने काम पनि सुरु गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । यसको सँगसँगै बिभिन्न भाषा, कला र संस्कृति तथा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व राख्ने पर्यटकीय स्थल एवं मठ मन्दिरहरुमा भौतिक निर्माण र संरक्षण सम्बर्धनका कार्यहरुमा पनि गाउँपालिकाले बजेट लगानी गरेर काम गर्दै आएको अध्यक्ष यादवले बताए ।