विदेशबाट फर्किएका युवाहरुलाई सीपमुलक तालिमसँगै सामग्री हस्तान्तरण

घोराही । कोरोनाका कारण रोजगारी गुमाएका तथा विदेशबाट फर्किएका घोराही उपमहानगरपालिका वडा नम्बर १९ का युवाहरुलाई सीपमुलक तालिमसँगै सामग्री हस्तान्तरण गरिएको छ ।

पारिवारिक खेती सबलीकरण, कोभिड १९ बाट प्रभावितहरुको लागि जिविकोपार्जन सुधार परियोजना अन्तर्गत १ महिने प्लम्बिङ तालिम लिएका २० जना युवाहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ली–बर्ड र जिआईजेड एलपीईडी परियोजनाको साझेदारीमा एलाईन्स नेपाल र कबिला टेक्निकल ईन्स्टिच्युटको सहकार्यमा घोराही १९ सँग समन्वय गरी तालिमसँगै १ लाख ७० हजार बराबरको विभिन्न सामग्री निशुल्क हस्तान्तरण गरिएको हो ।

कबिला टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष शिशिर पौडेलको अध्यक्षता तथा घोराही १९ का वडा अध्यक्ष हर्क घर्तीको प्रमुख आतिथ्यतामा बिहीबार सैघामा भएको कार्यक्रममा सीप हासिल गरेका युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुगोस् भन्दै जनही ८ हजार ५ सय बराबरको विभिन्न उपकरण निशुल्क रुपमा वितरण गरिएको छ । भदौ ४ गतेदेखि असोज ४ गतेसम्म तालिममा सहभागी भएकाहरुलाई ड्रिल मेशिन, ग्रेण्डर मेशिन, वाल कटर, पाईप रिन्च, पिलास, हेक्जा ब्लेड सेट, हेम्मर, मिजरिङ टेपलगायत सहयोगी सामग्री दिईएको छ ।

प्लम्बिङ तालिममा सहभागी घोराही १९ का युवाहरु अधिकांश रोजगारीको सिलसिलामा विदेश गएका बेला कोरोनाका कारण घर फर्किएर बेरोजगार भएकाहरु हुन् । घोराही १९ का वडा अध्यक्ष हर्क घर्तीले युवाहरुमा सीप क्षमता विकास र रोजगारी व्यवस्थापनका लागि सरोकार संस्थासँग सहकार्य गरि काम अघि बढाएको बताए । यसअघि ‘एक घर एक करेसाबारी’ कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरेको जानकारी गराउँदै यस पटक अतिथि सत्कार, बेमौसमि खेती र प्लम्बिङ तालिम अन्तर्गत युवाहरुको सीप र क्षमता विकाससँगै स्वरोजगारका लागि प्लम्बिङ तालिम प्रदान गरिएको बताए ।

उनले अब सिकेको सीपलाई आय आर्जनसँग जोड्न अपिल गरे । वडा कार्यालय, उपमहानगरका तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने भन्दै निकट भविष्यमै एक घर एक धारा अभियानका बेला वडालाई प्लम्बर आवश्यक पर्ने हुँदा त्यहाँ जनशक्ति खपत हुने सम्भावना रहेको बताए । रोजगारविहिन र विदेशबाट फर्किएका पहिलो चरणमा तरकारीका लागि ५ सय जना छनौट गरी तरकारीको बीउ, कुखुरा वितरणसँगै सिचाईका लागि हजारीलगायत सामग्री वितरण गरेको ली–बर्डका ऋषिराज वलीले जानकारी दिए । दोश्रो चरणमा दाङको घोराही १९ नम्बर वडामा रहेका युवाहरु छनौट गरी प्लम्बिङको तालिम दिएको बताए ।

परियोजनाले ५ वटा जिल्लाका पालिकामा यो कार्यक्रम संचालन गरेको उनको भनाई छ । जस अनुसार बुटवलको बुटवल उपमहानगर, दाङको घोराही, बाँकेको नेपालगन्ज, सुर्खेतको विरेन्द्रनगर, धनगढीको धनगढी उपमहानगरमा कार्यक्रम गरिएको हो । सो अवसरमा जिआईजेडका प्राविधिक सल्लाहकार चुडाराज गिरीले स्थानीय स्तरमा पहुँच अभिवृद्धि गरी सम्भाव्यताको पहिचान गरेर तालिम दिईएकाले भोलिका दिनमा युवाहरु स्वरोजगार हुनेमा विश्वास व्यक्त गरे । हातमा सीप नभएर यत्तिकै बसेका युवाहरुलाई यस प्रकारको सीपले हौसला प्रदान गर्न मद्दत पुग्ने अपेक्षाका साथ तालिम दिइएकाले सिकेको सीपलाई आयआर्जनसँग जोड्न अपिल गरे ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुका तर्फबाट नोखिराम गिरीले सीपविहिनको अवस्थाबाट माथि उठाउँदै हातमा सीप दिएको भन्दै अब आयआर्जनसँग आफुलाई जोड्दै आत्मनिर्भर बन्न कटिवद्ध हुने वचन दिए । ली–बर्डका वरिष्ठ कृषि प्राविधिक सहायक विरेन्द्र चौधरी, प्रशिक्षक पूर्ण जिसीलगायत परियोजनाबाट सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण एलाईन्स नेपालका कार्यक्रम सहजीकरण अधिकृत अस्मित ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस