मेट्रो कलेजमा विद्यार्थीको प्रदर्शनी
आफै चल्ने कारदेखि पुष्टकारीसम्म
तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न परियोजनाको प्रदर्शनी गरेका छन् । प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वचालित कारदेखि पुष्टकारीसम्मको प्रदर्शन गरेका हुन् ।
शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोक्सि इन्जिनियरिङ्गमा अध्ययनरत विद्यार्थी खेमराज नेपालीले अटोमेटिक स्यानिटाइजर मेसिनका बारेमा जानकारी गराउँदै कोभिडबाट वच्नका लागि हातले नछोएरै स्यानिटाइजर लगाउन सकिने वताए । ‘कतै छोएपछि त्यसबाट कोरोना सर्न सक्छ त्यसकारण नछोएरै स्यानिटाइजर आउने मेसिन बनाएका हौं’ उनले बताए । सम्वन्धित पक्षको सहयोग पाएमा व्यावसायिक रुपमा अटोमेटिक स्यानिटाइजर मेसिन उत्पादन गरिने समेत उनको भनाई थियो ।
अर्का विद्यार्थी मोहलाल कुमाइले आगलागी हुँदा सूचना दिने यन्त्रका बारेमा जानकारी गराएका थिए । ‘घरमा आगलागी हुँदा यो मेसिन अटोभेटिक रुपमा वज्ने गर्दछ र यो बजेपछि अटोमेटिक रुपमा मोटर चल्छ अनि त्यहाँबाट पानी आएर आगो निभाउछ’ उनले उपस्थितहरुलाई जानकारी गराउँदै थिए ।
शिक्षालयमा डिप्लोमा इन मेकानिकल र इलेक्ट्रिकल अध्ययनरत विद्यार्थीहरुले आगलागी हुँदा सूचना दिने यन्त्र, अटोमेटिक लाइट कन्ट्रोल सिस्टम, हातले देखाएर चलाउन मिल्ने कार, ड्राइभर विना पनि चल्न सक्ने कार, पानीको लेबल नाप्ने यन्त्र, अटोमेटिक स्यानिटाइजर मेसिन, दुरी नाप्ने यन्त्र, अटोमेटिक लाइट, मेकानिकल डुँगा लगायने यन्त्र लगायतका यन्त्रहरुको प्रदर्शन गरेका थिए । प्रदर्शन हेर्नका लागि स्थानीय छिमेकी विद्यालयका विद्यार्थीहरु समेत आएका थिए ।
साथै फुड एण्ड डेरी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न खानाका परिकारहरुको प्रदर्शन गरेका थिए । विद्यार्थी प्राप्ती शाहले आफुले उत्पादन गरेका खानेकुराहरु व्यावसायिक रुपमा समेत उत्पादन गरिने पनि वताइन् । ‘हामीले ससेज, पुष्टकारी, गुदपाक लगायतका विभिन्न कुराहरु व्यावसायिक रुपमा उत्पादन गर्ने तयारी गरिरहेका छौ । ’ विद्यार्थी सन्तोष खत्रीले भने । उनका अनुसार शिक्षालयको सहयोगमा ससेजको व्यावसायिक उत्पादनको सुरुवात समेत भइसकेको छ ।
शिक्षालयले गरेको प्रदर्शनीमा स्थानीय अम्बिकेश्वरी मावि अम्बापुरका विद्यार्थीहरुले समेत प्रदर्शन गरेका थिए । प्रदर्शनीमा विभिन्न विज्ञान सम्बन्धि परियोजनाको संयोजन शिक्षक शुभम कडेल र डेरी सम्बन्धि परियोजनाको संयोजन आशिष भडेलले गरेका थिए ।
यसैबिच प्रदर्शनी भन्दा अगाडी आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सुर्यबहादुर डाँगीले विद्यार्थीहरुलाई परियोजनात्मक कार्यमा निरन्तर लगाउनुपर्ने कुरामा जोड दिए । ‘अव विद्यार्थीले जान्ने मात्रै होइन सिक्नुपर्ने दिन पनि आयो’ उनले भने । सबैको पहुँचमा प्राविधिक शिक्षा पुर्याउनका लागि उपमहानगरपालिकाले शिक्षालयको स्थापना गरेको वताउँदै प्रवक्ता डाँगीले विद्यार्थीलाई सीपयुक्त वनाउनका लागि उपमहानगरपालिकाले विभिन्न परियोजनाको सुरुवात गर्न लागेको पनि वताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले विद्यार्थीले उत्पादन गरेका कुराहरुलाई व्यवसायिक वनाउनका लागि संघका तर्फबाट सहयोग गर्ने वताए । कार्यक्रममा बोल्दै डेरी एसोसियसनका केन्द्रिय सचिव रेशम बहादुर खड्काले डेरीका परिकारको माग अधिक भएको भन्दै विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । शिक्षालयका प्रमुख वसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता विद्यार्थी गोमती गिरीले गरेकी थिइन भने सहजीकरण विजय केसीले गरेका थिए ।