सुरक्षित आबासका लागि डकर्मीलाई तालिम

हापुरे । सुरक्षित आबासका लागि बबई गाउँपालिकाले डकर्मीका लागि तालिमको आयोजना गरेको छ । गाउँपालिकाको आयोजना तथा भूकम्पी प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले भुकम्पमैत्री भवन निर्माणमा डकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए । हामीले भूकम्पमैत्री भवन निर्माण गर्दा महंगो पर्ने हल्लाको पछि लागेको भन्दै आफु बस्ने आबास सुरक्षित गराउन स्वयम ब्यक्तिको भूमिका हुने बताए ।

सहर बजारदेखि ग्रामीणबस्तीसम्म जोखिमको बसाई रहेको भन्दै अध्यक्ष पौडेलले ज्ञानको अभावमा बिगतमा त्यस्ता काम भएको भन्दै जनतालाई चनाखो भएर सुरक्षित भवन निर्माणमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका प्रबक्ता टंकराज बिश्वकर्मा, ईञ्जीनियर राजेश देबकोटाले बोलेको थिए ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका ईञ्जीनियर रबिन्द्र बोहराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ईञ्जीनियर देबकोटाले गरेका थिए । कार्यक्रमको अध्यक्षता बबई गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दलाल वलीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस