सञ्चार विधेयक संशोधन हुँदैन : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक संशोधन नहुने तर, फिर्ता गर्न सकिने बताएका छन्। विधेयक दताई भई अगाडि बढी सकेको बताउँदै कि त अघि बढाइने कि त फिर्ता ल्याउन मिल्ने बताए । संशोधन गर्न पुनःप्रक्रियामा जानुपर्ने हुनाले तत्काल सम्भव नभएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले भने ‘संसदमा दर्ता भइसकेको विधेयकलाई पुर्नलेखन गर्न धेरै कानूनी बाधा हुने भएकाले बरु फिर्ता नै गर्न सकिन्छ । तर, संशोधन प्रक्रिया अगाडि बढाउन सकिन्न । प्रदेशसभा विधेयकहरुको चाङ ,कैंयौं महत्वपूर्ण विधेयकहरु त्यसै छन्। यस्तो अवस्थामा मिडिया विधेयक संशोधन गर्न सकिन्न ।’

उनले पत्रकार महासंघलेनै अगाडि बढाउने वा फिर्ता ल्याउने भन्ने विषयमा निर्णय गर्न अनुरोध समेत गरे । ‘विधेयकमा सञ्चार माध्यम र सञ्चारकर्मी बीच भिन्नै नीति छ, दुबैलाई एकै ठाउँ र एकै किसिमले सम्बोधन गर्न मिल्दैन । यदि तपाइँहरु चाहानु हुन्छ भने या त अगाडि बढ्न वा फिर्ता गर्न तपाइँहरुकै हातमा छ । तर, फिर्ता गर्न मिल्दैन ।’उनले भने ।

प्रतिपक्षले संसद अवरोध गरिरहेकाले पनि उक्त विधेयकलाई प्रदेशसभाबाट पारित गर्न कठिनाई रहेको भन्दै यसलाई शंसोधन वा पुर्नलेखन भन्दा फिर्ता लिन तयार रहेको बताए । विधेयकका बारेमा के गर्ने भन्ने सम्बन्धनमा पत्रकार महासंघले भनेकै आधारमा प्रदेश सरकार अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,निवर्तमान अध्यक्ष गोविन्द आचार्य , महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी,डाक्टर बालकृष्ण , महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी ,लगाएतले बोल्दै सरकार मिडियामैत्री बन्नुपर्ने बताउँदै कोभिडले थला परेको सञ्चार क्षेत्रको पुर्नउत्थान गर्नुपर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट वातावारण पत्रकारिताबाट पत्रकार टोपराज शर्मालाई सम्मानित गरिएको थियो । त्यसैगरी पत्रकार डाः बालकृष्ण चापागाँईलाई लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार ’ विषयमा विद्यावारिधि गरेकोमा सम्मान गरिएको थियो ।

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा आधारभुत पत्रकारिता प्रशिक्षण समापन समारोहमा एकहफ्ता प्रशिक्षण लिएका ४० जना बढी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता,उपाध्यक्ष विश्वास ढकालको स्वागत मन्तव्य र सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस