११ देशका राजदूत पोखरामा

पोखरा । पोखरामा आइतबार एकै पटक ११ देशका राजदूतको आगमन भएको छ । ४१औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा प्रदेश सरकारको पहलमा ११ देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिलगायत गरी कुल २८ सदस्यीय टोली एकै साथ पोखरा एयरपोर्ट ओलिएको छ ।
उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुलाई फूलमालासहित रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरे ।
गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा आएका राजदूतहरुमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत संलग्न छन् । लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश र पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश दिने अपेक्षा गरिएको छ ।
२ दिनसम्म पोखरा घुम्ने टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रीभोज आयोजना गर्दैछ । गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ ।