फाेहर ब्यवस्थापन गर्न मेयरकाे अनुराेध

दाङ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले रोगको संक्रमणबाट बच्नका लागि अस्पतालजन्य फोहरको व्यवस्थानमा ध्यान दिनुपर्ने बताए । फोहरबाट नै रोगको संक्रमण फैलिने भएकाले यसको व्यवस्थापनका लागि संयुक्त रुपमा सबै लाग्नु पर्ने बताए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई फोहर व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले यस्तो बताए ।

कोरोना संक्रमणपछि नीजि र सरकारी हस्पिटलमा अस्पतालजन्य फोहर उत्पादनमा वृद्धि भएको भन्दै उचित समयमा यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले नियमन र अनुगमणलाई अघि बढाउने नगर प्रमुख पाण्डेले बताए । तुलसीपुर उपमहानगरपालिका भरीको फोहरलाई व्यवस्थापन गर्नका लागि पाण्डेले यूएनडिपी र विभिन्न सामाजिक संघसंस्थालाई अपिल समेत गरे ।

कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपालकी आवासीय प्रमुख आयशानी लाबेले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेलाई निडिल कटर, बकेटलगायतका आवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा डा। सुरेन्द्रप्रसाद चौरसीया, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख डा। विनोद सिंह, निमेश ढकाललगायतले फोहर व्यवस्थापन बिना, व्यक्ति, समाज स्वस्थ हुन नसक्ने बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जीवन खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस