प्याब्सन घोराही नगर समितिको अध्यक्षमा चन्द

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगरको दोस्रो अधिवेशनल वीरेन्द्र चन्दकै नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरिएको छ । आगामी ३ वर्षे कार्यकालका लागि चयन गरिएको नयाँ समितिको उपाध्यक्षमा सुर्यबहादुर रावत, सचिवमा बालकृष्ण वली, सहसचिवमा मानसिंह घर्ती, कोषाध्यक्षमा ऋषि सुवेदी, सहकोषाध्यक्षमा सन्तोष रेग्मी चयन भएका छन् । सर्वसहमतिमा चयन गरिएको नयाँ कार्य समितिको सदस्यहरुमा बिमल भण्डारी, पदम गिरी, सारिका ठकुरी, सन्दीप शाह र शिव भण्डारी रहेका छन । बाँकी २ जनापछि मनोनित हुने अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिएका छन ।

अधिवेशनको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका केन्द्रिय सल्लाहकार नारायणप्रसाद अधिकारीले राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण बदलिन नसक्दा ठूलो मारमा परेको बताएका छन् । नेपालको शिक्षा क्षेत्रको उन्नयनका लागि निजी विद्यालयले खेलेको भूमिका अनुकरणीय भएपनि राज्य संचालकहरुबाट जस दिने काम कहिल्यै पनि हुन नसकेको बताएका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन घोराही प्बाब्सनको दोश्रो अधिवेशनलाई शनिबार घोराहीमा सम्बोधन गर्दै उहाँले प्याब्सन देशभरको सबैभन्दा प्रभावशाली संगठन भएको बताउँदै निजी विद्यालय प्रति राज्यको दृष्टिकोण सकारात्मक बनाउन आफुहहरुको प्रयास जारी रहेको बताए । उनले कोरोनाका कारण २० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु अनलाइनमा जोडिन नसक्दा पठनपाठनको प्रत्यक्ष मारमा परेको बताएका थिए ।

प्याब्सन घोराही नगर अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षतामा भएको अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले निजी विद्यालयहरुले अभिभावकबाट लिने शुल्कमा शिक्षा कर जोडिने गरेको प्रष्ट पार्दै केन्द्रीय सल्लाहकार अधिकारीले अभिभावकले राज्यलाई अदृश्य रुपमा कर तिरिरहँदा पनि अन्ततः नागरिक, अभिभावक र बालबालिकामाथि राज्यले गरेको सौतेलो व्यवहार खेदजनक रहेको जिकिर गरे । कोरोनाका कारण लामो समयसम्म संचालनमा आउन नसकेका विद्यालयहरु कसरी चलेका थिए भन्ने बारेमा स्थानीय तहले केही पनि सम्बोधन नगर्नु बिडम्बना रहेको भन्दै उनले अब यस विषयलाई सम्बोधन गर्ने गरी अघि बढ्न प्याब्सनको पालिका, जिल्ला र प्रदेश नेतृत्व जुझारु बन्नुपर्ने बेला आएको बताए ।

त्यस्तै उनले विद्यालयमा गरिँदै आएको पठनपाठनलाई पूर्ण मन्टेश्वरी विधिमा लैजानु पर्ने तर्क गरे । अहिले भईरहेको पठनपाठनले पुरानो शिक्षण शैलीलाई कही न कही अंगिकार गरेको महसुश हुने हुँदा अब भाषामा रुपान्तरण हुनु आवश्यक रहेको बताए । प्याब्सन दाङका जिल्ला अध्यक्ष रेशम बुढाले केन्द्र, प्रदेश, जिल्ला, पालिका र १० वडा नपुगेका स्थानमा फोकल पर्सनको व्यवस्था गरेको बताउँदै प्याब्सनका हरेक गतिविधि चलायमान रहेको बताएका थिए । व्याब्सन केन्द्रीय समिति लेखा समिति सदस्य सरिता देवकोटाले फुटेर नभई अब जुटेर अघि बढ्ने बेला आएको बताउनुभयो । एक अर्काको कमी कमजोरी औँल्याएर निर्मम समीक्षा गर्दै अघि बढ्न अपिल गरे ।

दाङका वरिष्ठ सल्लाहकार केशव थापाले हाल देखा परेका समस्या र उठान गरिएका समस्या समाधानका लागि आगामि दिनमा सबैले आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताए । दोश्रो नगर अधिवेशनमा प्याब्सनका जिल्ला सल्लाहकार यादव गिरी, प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार जीवनकुमार आचार्यलगायतले बोलेका थिए । कार्यक्रममा लामो समयसम्म शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षकलाई तथा प्याब्सनका सल्लाहकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सल्लाहकार टोलीबाट नारायणप्रसाद अधिकारी, जीवनकुमार, आचार्य, यादव गिरी, बिनय मिश्र र शरदकुमार शर्मासँगै मेचीकाली स्कुलका नवराज खत्री रहरहेका थिए । प्याब्सन घोराही नगरका सदस्य खेमराज खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सहजीकरण जिल्ला सचिव खगेश्वर पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस