जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्य

बर्दिया । जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए ।

धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पु¥याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस