आज निगमको जहाज बेइजिङ जाँदै ४४ लाख भेरोसेल खोप लिन

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै छ । खोख भोलि नेपाल आइपुग्ने छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो ।

जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ ५ः४५ बजे बेइजिङ तर्फ जाने छ । आज बेइजिङका लागि जाने विमानले भोली शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।

भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो । सरकारले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस