दाङमा कृषि क्षेत्रका लागि १३ कराेड बजेट

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई दाङले चालुआर्थिक वर्ष २०७८/०७९ का लागि १३ करोड बजेट कार्यान्वयनमा ल्याउने भएको छ । जिल्लाका १० वटै पालिकालाई सम्बोधन गर्ने गरी संघीय, प्रदेश सरकार र स्थानीय तहबाट कार्यान्वयनमा लैजाने गरी जोन विकास कार्यक्रम, ब्लक विकास कार्यक्रम र पकेट विकास कार्यक्रमका लागि सो बजेट विनियोजन बारे बुधबार घोराहीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । परियोजना एकाई प्रमुख महेश रेग्मीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत कृषि क्षेत्रका लागि विनियोजित बजेट बारे समिक्षा पनि गरिएको थियो ।

कार्यक्रममा परियोजना कार्यान्वयन एकाई प्रमुख रेग्ग्मीले जोन विकास कार्यक्रमका लागि संघीय सरकारबाट ६ करोड ४२ लाख बजेट आएको बताए । यसैगरी, ब्लक विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट २ करोड २२ लाख ५० हजार विनियोजन भएको बताए भने स्थानीय तहबाट पकेट विकास कार्यक्रमका लागि ४ करोड ३६ लाख विनियोजन भएको जानकारी गराए । उक्त रकम जिल्लाका लक्षित कार्यक्रममा खर्च हुनेछ ।

यसैगरी पालिका अन्तर्गत पकेट विकास कार्यक्रमका लागि घोराही उपमहानगरपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ ११ लाख विनियोजन भएको बताए । तुलसीपुर उपमहानगरपालिकामा कृषि तर्फ १२ लाख, पशु सेवा तर्फ ३८ लाख, लमही नगरपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ ११ लाख विनियोजन भएको छ । यसैगरी पकेट विकास कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ ६ लाख विनियोजन भएको छ । पकेट ब्लक विकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ १५ लाख, राजपुर गाउँपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ १५ लाख, बबई गाउँपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ ७ लाख र दंगीशरण गाउँपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ २२ लाख विनियोजन गरिएको एकाई प्रमुख रेग्मीले जानकारी दिए ।

उनका अनुसार पकेट÷ब्लक कार्यक्रम अन्तर्गत शान्तिनगर गाउँपालिकाकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ ११ लाख, बंगलाचुली गाउँपालिकामा कृषि तर्फ २४ लाख, पशु सेवा तर्फ २२ लाख विनियोजन भएको छ । बजेट कार्यान्वयनका लागि ब्लक विकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र घोेराहीलाई १ करोड ६७ लाख ५० हजार विनियोजन गरिएको छ भने ब्लक विकास कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयनका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीलाई ३५ लाख विनियोजन गरिएको उनले जानकारी दिए । बजेट सार्वजनिक कार्यक्रममा एकाई प्रमुख रेग्मीले गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यको शत प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताए । यद्यपी, चालु खर्चमा करिब ८५ प्रतिशत मात्रै खर्च भएको बताए । वित्तिय प्रगति तर्फ भने ७३ दशमलव ३१ प्रतिशत खर्च भएको सो अवसरमा जानकारी गराए ।

जिल्लाको घोराही, तुलसीपुर र बंगलाचुलीलाई मौरी जोनका रुपमा निर्धारण गरिएको छ । यसैगरी, तोरी जोनका रुपमा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकालाई निर्धारण गरिएको छ । मकै सुपर जोनका रुपमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकालाई निर्धारण गरी कार्यक्रम कार्यान्वयनमा ल्याईएको छ । जिल्लामा मकै सुपर जोनका लागि २ हजार ९ सय हेक्टर क्षेत्रफल छुट्टयाईएको छ । तोरी जोनका लागि ७ सय ५० हेक्टर र मौरी जोनका लागि १३ हजार ४ सय हेक्टर क्षेत्रफल निर्धारण गरिएको एकाईले जनाएको छ । १५ प्रकारका बाली मध्ये दाङमा ६ वटा बाली बिस्तारका लागि कार्यान्वयनमा ल्याईएको छ । जस अनुसार मकै, तोरी, धान, मौरी, बाख्रा र तरकारी रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नेपालीले आधुनिकीकरण कार्यक्रम नाममा मात्रै सीमित बन्न नहुने बताए ।

कृषि पकेट क्षेत्र निर्धारण गरि वृहत उत्पादनमा ध्यान दिन जरुरी रहेको औँल्याउँदै उनले अनुदान लिने नाममा गलत उद्देश्य राखेर काम गर्नेलाई पहिचान गरी कारबाही गर्न आग्रह गरे । कृषि क्षेत्रमा वृहत उत्पादनका लागि एकीकृत रुपमा लाग्नु पर्नेमा अहिले कसैले पनि नसोचेको हुँदा यस तर्फ ध्यानाकर्षण गराएका थिए । अहिले पनि अधिकांश कृषकहरु आफ्नो उत्पादन लागतको मुल्य नपाउँदा निराश रहेको हुँदा लागत मुल्यको उचित मूल्यांकन गरी बस्तुको मुल्य श्रृंखला कायम गर्न सुझाव दिए । जिसस प्रमुख नेपालीले भने, ‘आयात प्रतिस्थापन गर्ने गरि लाग्न स्थानीय तह, प्रदेश र संघ सरकारले पहल गर्नुपर्छ, पानीको श्रोत बढाउन नदिजन्य बस्तु उत्खनन रोकेर हरित योजना कार्यान्वयनमा लैजान सकेमा कृषि क्षेत्रमा सबै भन्दा प्रगति गर्न सकिन्छ ।’

उत्तरीभेगमा पानीको मुहान र श्रोत संरक्षण गर्ने, बाह्रै महिना सिंचाइ पु¥याउन पहल गर्ने, बढ्दो भू–खण्डीकरण रोक्नु पर्ने, कृषि उत्पादन हुने ठाउँमा घडेरी बनाउने काम रोक्नु पर्ने उनको धारणा थियो । देशको समग्र विकासका लागि कृषि क्षेत्र बलियो बनेमा यसबाट राष्ट्रियता पनि बलियो बन्ने विश्वास व्यक्त गरे । सो अवसरमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले कृषि क्षेत्रको विकासका लागि उपमहानगरले सिंचाई सुविधा बिस्तारलाई प्राथमिकतामा राखेको बताए । व्यवस्थित र वैज्ञानिक कृषि प्रणालीमा कृषकलाई प्रोत्साहनका लागि नवीन शैलीबाट कृषि सम्बन्धि कार्यक्रम अघि बढाउनु पर्ने बेला आएको उनको भनाई थियो ।

आत्मनिर्भरता बिना देश विकास सम्भव नभएको बताउँदै नगर प्रमुख चौधरीले पछिल्लो समय यान्त्रिककरण भित्रिए पनि वृहत खेती उत्पादनमा ध्यान पुग्न नसकेको तर्क गरे । उनले भने, ‘उत्पादन हुने बस्तुको गुणस्तरीयतामा कृषकले चासो लिएनन्, क्षणिक लाभका लागि परम्परागत सोँचमा अहिले पनि परिवर्तन आएन, समयसापेक्ष विचार र चेतनास्तर बढाउँदै लैजानुपर्छ ।’ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, कृषि ज्ञान केन्द्र प्रमुख बुद्धिराज घिमिरे, साल्ट ट्रेडिङ कर्पाेरेशनका प्रमुख रामबाबु गुप्ता, कृषि शाखाका प्रमुखलगायतका सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण परियोजना एकाईकी कृषि अधिकृत कुसुम भुसालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस