खुकुरीमा जिवन खोज्दै राजपुरका सुकलाल

देउखुरी । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ सोमइथान बस्ने सुकलाल बिश्वकर्मा शिक्षण पेशा छोडेर आरन पेशामा जिवन खोज्दै छन् । शिक्षण छोडेर आरन पेशामा लागेको सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ तर बिश्वकर्मालाई बिहानै उठेदेखि राती ९ बजेसम्म फलाम पिटेर खुकुरी बनाउन र पायन हेर्न भ्याइ–नभ्याई छ । २०४९ सालमा राजपुर २ मा सोमइथान प्रावि स्थापनामा आफै पहल गरेर शिक्षण पेशा गर्दै आएका सुकलालले शिक्षण छोडेर बिगत १५ बर्ष अगाडीदेखि आरन पेशामा रमाउँदै आएका छन् ।

केहिबर्ष गाउँकै विद्यालयमा शिक्षकको काम गरें तर निजी स्रोतको शिक्षक बनेर परिवार पाल्न गाह्रो भएको थियो । सीप छदै थियो, शिक्षकको काम छोडेर पुख्यौली पेशा आरन रोजें । अहिले त्यसैमा जिवन रमाएको छ–सुकलालले भने । आजकलका नयाँ पिढीले पुख्र्यौली पेशा रोज्दैनन् तर मेरो छोराले मलाई पुरै साथ दिएको छ । राजपुर गाउँपालिका र मुख्यमन्त्री रोजगार कार्यक्रमले पनि थप सहयोग गरेको छ । बाऊ–छोरा मिलेर आरन उद्योग चलाएका छौं । मजासँग ११ जनाको परिवार पालेका छौं उनले भने ।

राजपुर २ को सोमइथानमा घरेलु कृषि औजार तथा ग्रील उद्योग नामबाट ब्यवसायिक रुपमा आरन चलाएका सुकलालले खुकुरी, बसुला, दाबु, बञ्चरा, चुलेसी, फरुवा, खुर्पा र हँसियालगायतका घरेलु हतियारहरु बनाउने गरेका छन् । मुख्य गरि खुकुरीहरुको माग बढी छ । नेपालका बिभिन्न स्थानहरुबाट खुकुरी बनाइदिने अर्डर आउँछ उनले भने । नजिकका ग्राहकले घरमै आएर अर्डर गर्छन् भने टाढाका ग्राहकले फोनबाट पनि अर्डर गर्छन । दुई हजारदेखि ३० हजारसम्म मुल्यपर्ने खुकुरी उत्पाद गरि बिक्री गर्ने गरेको छु–बिश्वकर्माले भने । एघार जनाको परिवार पालेर मासिक ४५ देखि ५० हजारसम्म कमाएको छु । खुकुरी मै मेरो जिवन रमाएको छ । अब पुरानो नामको उद्योग कट्टागरी जिल्लाकै नाम रहनेगरि दंगाली खुकुरी उद्योग नामले उद्योग संचालनको तयारीमा दर्ता प्रोसेसको अन्तिम चरणमा छु उनले भने ।

आरन चलाउन गोलको अभाव छ । धार मिलाउने मसिनलाई ३ लाख भारतीय रुपियाँ पर्छ । त्यो अझै किन्न सकेको छैन । खुकुरीको दाव सिलाउन टाढा जानु पर्दथ्यो । राजपुर गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमको ५० हजार अनुदानबाट दाब सिलाउने मसिन ल्याएपछि घेरै सहज भएको छ उनले भने । खर्च र समय दुबै बचेको छ । यो पेशामा लागेको झण्डै १५ बर्ष पुगेको उनकोे भनाई छ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट यस्तै पेशा ब्यवसायलाई प्रेरणा दिदै रोजगार उन्मुख बनाउने अबधारणा बमोजिम गाउँपालिकामा सल्लाह गरि ब्यवसायलाई प्रबर्धन गर्न सहयोग गरेका हौं । हाम्रो सहयोगले सुकलालको परिवार खुसी छ कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले भने । शिक्षण पेशा छोडेर खुकुरी बनाएर जीवन रोजेको देख्दा पेशाप्रतिको सम्मान गर्न हामीले सपोर्ट गरेका हौं राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

बिगत २०४४ सालमा राजपुरको सालभौंरीबाट सोमइथान आएका सुकलालले आरन पेशाबाट खुकुरी बनाएरै पक्किघर हालेका छन् । खुकुरीको बजारमाग धेरै छ । त्यसमा पनि उनले आकर्षक फिनिसीङसहित चिटिक्कका खुकुरी र दाबुहरु बनाउँछन् । खुकुरी तथा दाबुहरुको बजारमा धेरै माग भएको उनको भनाई छ । माग बमोजिम पु¥याउन सकेको छैन । आरन पेशा शिक्षणभन्दा सजिलो छैन तर शिक्षणमाभन्दा दाम राम्रो छ सुकलालले भने । खुकुरीको धार मिलाउने मसिन र थप एउटा दाब सिलाउनु मसिन चाहिएको छ । खराद मसिन त छदै छ उनले भने । नयाँ पुस्तालाई जागरुक बनाउन र पुरानालाई निरन्तरता दिन यस्ता पेशा ब्यवसायलाई राज्यले लगानी गरि प्रबर्धन गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस