दाङमा करोडौँको लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण

दाङ । घोराही उपमहानगरपालिका १४ मा करिब ३० करोडको लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न लागेको करिब ४ वर्ष भयो । तर, अहिले सम्म करिब ९० प्रतिशत काम भएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लामा कुनैपनि ठूला कार्यक्रम गर्नको लागि सभागृह नहँुदा धेरै कार्यक्रमहरू जिल्ला बाहिर गर्नुपर्ने अवस्थालाई मध्य नजर गरी यहाँका उद्योग वाणिज्य संघले घोराही र तुलसीपुरमा करिब एक हजार जना क्षमताको सभागृह निर्माण गरेका छन् । जिल्लामा ठुलो सभागृह नहुँदा राष्ट्रिय स्तरका ठूला कार्यक्रमहरू गर्न नसकेको अवस्थामा दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा २०७४ सालदेखि बहुउद्देश्यीय सभागृह निर्माण गर्न शुरु गरेको थियो ।

तर, कोरोना महामारीलगायतका समस्याका कारण अहिलेसम्म करिब ९० प्रतिशत मात्र कामसम्म भएको संघका पूर्वअध्यक्ष नारायण प्रसाद भुसालले बताए । उनका अनुसार घोराही नगर विकास समितिले दिएको १९ कठ्ठा बढि जग्गामा बहुउद्देश्यीय सभागृह निर्माण गरिएको हो । उनले भने, ‘सभागृह नहुँदा पश्चिम नेपाल मै ठूला राष्ट्रिय स्तरका कार्यक्रमहरू गर्न सकेका छैनौं । त्यही अनुसार जिल्लामा सभागृह निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले नै शुरु गरेका हौँ । यो निर्माण सम्पन्न भए जिल्लालाई ठुलो राहत मिल्ने छ ।’ सभागृह निर्माणको लागि संघले महोत्सव लगाएको र त्यहीबाट बचेको ५१ लाख रुपैयाँ र रु ५ को अभियान शुरु गरेर ११ हजार ब्यक्तिबाट संकलन भएको ५५ हजार रुपैयाँबाट शुरु गरेको उनको भनाइ थियो ।

त्यस्तै सभागृह निर्माण गर्नको लागि करिब ३० करोडको लागत लाग्ने प्रोजेक्टका रुपमा तयार गरिएकामा नेपाल सरकारको संघीय सरकारबाट २६ करोड ७७ लाखको बजेट २०७४ सालमा पाएको बाँकी ३ करोड २३ लाख रुपैयाँ संघले लगानी गर्ने अनुसार नै निर्माण भएको उनले बताए । सभागृह निर्माणको लागि टेन्डर अनुसार जिम्मा दिई २०७६ पुस २६ गते सम्म निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको भएयता पनि कोरोना महामारी गर्दा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । त्यस्तै सभागृह निर्माणको लागि प्रदेश सरकारबाट खानेपानी बोरिङ निर्माणको लागि १० लाख सहयोग भएको समेत उनले बताए ।

त्यस्तै स्थानीय सरकारले पनि सभागृह निर्माणको लागि केही सहयोग गरेको उनले बताए । त्यस्तै संघले सभागृह वरपर पर्खाल लगाउने र त्यहाँ वरपर करिब ७ कठ्ठा जमिनमा बसेका सुकुम्बासीहरूलाई घोराहीको बडहरामा जग्गा खरिद गरेर स्थानान्तरण गरेको समेत उनले बताए । उनले भने, ‘अब आउँदो असोज १५ गते सम्म निर्माण सम्पन्न हुन्छ होला । यदि निर्माण भयो, भने ठूला–ठूला राष्ट्रिय स्तरका कार्यक्रमहरू जिल्लामा गर्न सकिन्छ । जसले गर्दा जिल्लाको अवस्था चलायमान हुन्छ । एकै पटक एक हजार जनासम्म मानिसहरू आउन सक्छ ।’

यसैगरी तुलसीपुरमा पनि सभाहल निर्माण भएको छ । पश्चिम क्षेत्रको लागि ठूला कार्यक्रम गर्न सहज गराउने उद्देश्यले करिव २ करोड ५० लाखको लागतमा तुलसीपुर उपमहानगरपालिका ९ दोघरेमा तुलसीपुर उद्योग वाणिज्य संघले सभागृह बनाएको हो । ५ कठ्ठा क्षेत्रफलमा बहुआयमिक सभागृह बनाउने योजनाका साथ बनाएको भएयता पनि आर्थिक अभावले गर्दा त्यो अझै पूरा नभएको सभागृह निर्माण समितिका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले बताए । उनका अनुसार ५ कठ्ठा जमिन मध्य संघका कार्यसमिति सदस्य यज्ञ बहादुर केसीले दान गरेका हुन् । करिब २ वर्षमा निर्माण सम्पन्न भएयता पनि अझै केही प्रतिशत काम बाँकी रहेको अहिले प्रयोगमा आइरहेको उनको भनाइ छ । उनले भने, ‘यो निर्माण गर्दा राज्यबाट एक पैसा सहयोग आएको होइन् । दाताहरुको सहयोग, ब्यवसायी, उद्योगीहरुको सहयोगबाट नै हो ।

अहिले सम्म साढे २ करोड लागेको छ ।’ सभागृह निर्माण भएपछि अहिले पश्चिम दाङको धार्मिक, साँस्कृतिकलगायत राजनीतिक कार्यक्रमहरुलाई पनि सपोट गरेको उनले बताए । ‘हामी निजी क्षेत्रका साथीहरुले आफ्नो दायित्व पूरा गरेको हो,’ उनले भने, ‘हामीले अरुलाई सिकाउने, अरुले गर्ला भन्दा पनि तुलसीपुरको भविष्य सोचर नै सभागृह बनाएको हो । तुलसीपुर ठूला कार्यक्रम गर्दा संरचनाहरु नहुँदा खुल्ला ठाउँमा गर्नु पर्ने बाध्यता रहेको थियो । तर, अहिले सभागृहले ठूला राहत मिलेको छ ।’

त्यस्तै उनले अहिले तुलसीपुरमा पुरानै किसिमका धेरै होटलहरु भएको भन्दै यदि तुलसीपुरको टरिगाउँ एयरपोर्ट नियिमत रुपमा सञ्चालनमा आएका यहाँ थ्रि स्टार सम्मको लागि होटलहरु सञ्चालनको लागि ब्यवसायीहरु तयारी रहेको समेत बताए । उनले भने, ‘सभागृह निर्माण भएको छ । अब यहाँ राम्रो होटलहरुको आवश्यक छ । धेरै लगानी गरेर होटल राम्रोसँग सञ्चालन भएन, भने ब्यवसाय पलायन हुने स्थिति आउँछ । एयरपोर्ट नियमित र कोरोना महामारी भए तुलसीपुरमा थ्रि स्टारसम्म होटल धेरै सञ्चालनमा आउँछन । जसले गर्दा यहाँको आर्थिक, पर्यटक लगायतमा टेवा पुग्छ । ’

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस