किसानहरु भन्छन्ः दुध बेच्न अब टाढा जान नपर्ने भयो

राजपुर । राजपुर ५ चंगवाका सुरेशकुमार यादवले अफूले भैंसी पालेर उत्पादन गरेको दुध गाउँमै बेच्न पाउने वातावरण बनेको बताए । यसअघि उनले दुध बिक्री गर्न लमही, घोराही र भालुवाङ तथा इमिलीयाका बजार धाउनु पर्दथ्यो । गर्मीको सिजनमा बेलुकाको दुधबाट दही बनाएर भालुवाङ र तुलसीपुरमा बिक्री गर्न बजार खोज्न जानुपर्ने बाध्यता भएको उनले बताए । गाउँमा ब्यक्तिगत संकलन केन्द्र खोलिएको भएपनि बाहिरको बजारमा जत्ति दुधको भाउ नपाइने भएकोले पनि हामी दुध, दहि बेच्न बाहिरका बजार धाउनु पर्दथ्यो–यादवले भने ।

सोही गाउँ निवासी अकेश्वर यादवले ३ वटा दुहुना भैंसी पालेका छन् । गाउँको संकलन केन्द्रमा प्रतिलिटर ४० देखि ५० मा बेच्नु पर्छ–उनले भने । बाहिरका बजारमा पु¥यायो भने दुध र दहीको भाउ राम्रो पर्ने भएकोले पनि राजपुरका अधिकांश पशुपालक किसानहरु घोराही, भालुवाङ र चन्द्रौटासम्म पुग्ने गरेको यथार्थता उनले बताए । गाउँमा चिस्यान केन्द्र नहुँदा बेलुकाको दुध घरमै खाएर सकिन्थ्यो की त दहि बनाएर टाढा–टाढाका बजारमा धाउनु पर्दथ्यो–यादवले भने । किसानहरुको समस्यालाई हामीले पहल गरेर अब गाउँमै चिस्यान केन्द्रको मसिन हस्तान्तरण गरेका छौं । अब यहाँका किसानहरुलाई दुध बेच्न सहज हुने भएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी ले बताए ।

राजपुर गाउँपालिकाको मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गतबर्षको बजेटबाट खरिद गरिएको चिस्यान केन्द्र शनिबार एक कार्यक्रमका बिच किसानहरुको दुग्ध उत्पादक सहकारीलाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षता र लुम्बिनी प्रदेश मामिला तथा कानून समितिका सभापति सांसद दामा शर्माले चिस्यान केन्द्रका लागि आवश्यक मसिनहरु हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५ लाख बराबरको चिलिङ भ्याट, ल्याक्टो तथा फ्याट समेत नाप्ने आधुनिक प्रविधिको चिस्यान केन्द्र चंगवास्थित शिवशंकर दुग्ध सहकारी संस्थाका अध्यक्ष कान्ताप्रसाद यादवलाई हस्तान्तरण गरिएको हो । सो चिस्यान केन्द्रको जडान तथा थप ब्यवस्थापन सिड्स संस्थाले गर्ने कार्यक्रममा जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश मामिला कानून तथा न्याय समितिका सभापति दामा शर्माले जनताले प्रत्यक्ष फाइदा लिने खालका उत्पादनमुखी कार्यक्रम संचालन गर्न प्रदेश सरकारको प्रयास रहेको बताए । कृषि र पशुपालनको प्रदेशकै हव राजपुर गाउँपालिकालाई भैंसी स्रोतकेन्द्रको रुपमा बिकास गर्न प्रदेश सरकारले पहल गर्ने बताउँदै तीन बर्षको कार्यकालमा प्रदेश सरकारले गरेका कामहरुको ब्यापक समिक्षा गर्दै वर्तमान गठबन्धन सरकारले किसानहरुलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने बताए । कृषि र पशुपालनलाई प्राथकिता दिदै प्रदेश सरकारले नयाँ ढंगले कार्यक्रम बनाउने बताउँदै चिस्यान केन्द्रको अधिकतम उपयोग गर्न सांसद शर्माले किसानहरुलाई आव्हान गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकराज केसी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल, मुख्यमन्त्री कार्यक्रम सिफारिस समितिका सदस्य सिता यादव लगायतले बोलेका थिए । सो अवसरमा प्रमुख अतिथि समेत रहेकी प्रदेश सांसद दामा शर्मालाई स्थानीय किसानहरुले पशु नश्लसुधार, पशु स्वास्थ्य शिविर र दुधडेरी स्थापनामा थप पहल गर्न भनी मागपत्र पेश गरेकी र्थिइन् । दुग्ध सहकारी संस्थाका सदस्य मंगलप्रसाद यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन मुख्यमन्त्री रोजगार कार्यक्रमका सहजकर्ता गिरीराज भट्टले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस