गढवा र राजपुरमा २ करोड बढी रेडक्रसको लगानी
गढवा । गढवा २ पचाहाका १८ बर्षिय अनिष चौधरी बुवाआमा नै नभएका अनाथ रहेका छन । जिविकोपार्जन गर्न आम्दानीको स्रोत पनि छैन । रेडक्रसले दिएको पशुस्वास्थ्य सम्बन्धि भेटेनरी तालिम लिएपछि उनले बंगुर पाल्न मन लाग्यो तर पैसा भएन । यो कुरा रेडक्रसले थाहा पाएपछि चौधरीलाई बंगुर पाल्न भनि तालिम गराएर २५ हजार नगद अनुदान दियो । शुक्रवार बंगुर पाल्न रेडक्रसले पैसा दिदा उनलाई निकै खुसी देखिए ।
सोही गाउँका राजकुमार यादवको पनि हालसम्म नागरिकता बनेको छैन । नागरिकता नभएकै कारण बिपन्न परिवारका उनीले कुनै अवसर नपाएको बताए । यादवलाई पनि रेडक्रसले आयआर्जनका लागि नगद २५ हजार हस्तान्तरण गरेको छ । गढवा २ पचहियाका अपांगता भएका नागरिक बिन्देश्वर चौधरी हुइलचेयारमा बसेर अनुदानको रकम बुझ्न कार्यक्रम स्थलमा आए । किराना पसल गरेर आफ्नो जिविकोपार्जन गर्ने उनको लक्ष्य पूरा भएको भन्दै चौधरीले खुसी ब्यक्त गरे ।
सोही वडाको बघमरुवा निवासी लालबहादुर पुनले रेडक्रसबाट बाख्रा पालनको तालिम लिएपछि खोर समेत निर्माण गरेर अनुदानको रकम बुझ्न कार्यक्रममा आएका उनी । उनि जस्तै अनुदानको कार्यक्रममा छनोट भएका २५ जना बिपन्न र सिमान्तकृत नागरिकहरु आफूले छानेको ब्यवसाय गर्न २५ हजारका दरले अनुदान रकम पाउँदा निकै खुसी भएर घर फर्के ।
नेपाल रेडक्रस सोसाइटी दाङको इन्कोर परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा २०७५ देखि हालसम्म ३ सय ८६ जना र राजपुर गाउँपालिकामा ३ सय ६१ जना गरि कुल ७७९ जनालाई जिविकोपार्जनका लागि किसानले छानेको ब्यवसाय गर्न जनही २५ हजार र बोयर बोका समेतको गरि हालसम्म २ करोड १५ लाख बढी रकम अनुदान उपलब्ध गराएको परियोजनाका अधिकृत जगत तामाङले जानकारी दिए । नदी किनारका बस्तिहरुमा बसेका संकटासन्न समुदाय, एकल महिला, अपांगता भएका नागरिक, दलित, बिपन्न र सिमान्तकृत तथा अनाथ वालवालिकाका संरक्षक लाई छानेर आयआर्जनको कार्यक्रममा सपोर्ट गरिरहेको र यो कार्यक्रम किसानका लागि उत्साहित देखिएको परियोजनाका जिविकोपार्जन अधिकृत थानेश्वर पोखरेलले बताए ।
रेडक्रसको २५ हजार अनुदानबाट किसानहरुले चाहेको ब्यवसाय गर्न पाएका छन् । मुलतः नश्ल सुधारका लागि बोयर बोका समेत प्रदानगरि नाका क्षेत्रका नागरिकहरुलाई बाख्रापालनमा अनुदान उपलब्ध गराइएको र यसमा किसानको बढी रुचि देखिएको रेडक्रस इन्कोर कार्यक्रमका फिल्ड अधिकृत देवि प्यारेलले बताए । किसानहरुको नामावली छनोटपछि अभिमुखिकरण तालिम, गाउँपालिकासंग समन्वय गरि पशु प्राबिधिक तालिम र गोठ सुधार तालिम दिएर गोठ तयार गरेपछि मात्र अनुदान रकम दिने गरिएको रेडक्रस दाङका सभापति नारायण आचार्यले बताए ।
यत्तिमात्र होइन पशुपालक किसानका लागि पशुबिमाको ब्यवस्था समेत रहेको उनले बताए । रेडक्रस दाङका सभापति नारायण आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा अनुदान वितरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले रेडक्रसको इन्कोर परियोजनासंगको समन्वय सहकार्यमा गढवा गाउँपालिका क्षेत्रमा बिपद् प्रतिकार्य, खोज उद्धार,जिविकोपार्जन र जनशक्ति उत्पादन तथा परिचालन लगायतका महत्वपुर्ण कार्यहरु भएको बताए ।
कार्यक्रममा रेडक्रस दाङका उपसभापति मदन गौतम, उपशाखा गढवाका निवर्तमान सभापति मोहनकुमार पाण्डेय, इन्कोर परियोजनाका अधिकृत जगत तामाङ र जिविकोपार्जन अधिकृत थानेश्वर पोखरेल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण फिल्ड अधिकृत देवि प्याकुरेलले गरेकी थिइन ।