मेट्रोका विद्यार्थीले बनाए ‘पानी भरिएको संकेत दिने यन्त्र’

तुलसीपुर । घरको ट्यांकीमा पानी लगाउँदा सधै पानी खेर जाने समस्या तपाईले व्यहोरिरहनु भएको छ ? यो आम समस्या हो । ट्यांकीमा पानी लगाएको भुलेर पानीको क्षति भएका घटना कसैका लागि नौलो होईन । तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले भने पानी सूचक यन्त्र वनाएका छन् ।

पानी भरिदै जाँदा कति प्रतिशत पानी भरियो भनेर संकेत दिने यन्त्र उनीहरुले वनाएका हुन् । डिप्लोमा तहको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स पहिलो वर्ष विद्यार्थीहरुले यस्तो यन्त्र वनाएका हुन् । शिक्षालयको परियोजना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले विभिन्न उपकरण वनाइरहेको कलेज प्रमुख वसन्त आचार्यले बताए ।

पानी सूचक यन्त्रको आवश्यकता अहिलेको समयमा निकै रहेको भन्दै उनीहरुले वनाएको विद्यार्थी खेमराज नेपालीले जानकारी दिए । उनले यसलाई परियोजनाका रुपमा वनाएपनि विस्तारै सहयोग पाएमा व्यावसायिक रुपमा वनाउन सकिने पनि जानकारी दिए । ‘कलेजले हामीलाई परियोजना कार्यक्रम बनाउने अवसर दियो सोही अनुसार हामीले यो निर्माण ग¥यौ’ अर्का विद्यार्थी अशोक भण्डारीले भने ।

पानी सूचक यन्त्रमा पानी भर्ने ट्यांकीमा तारको कनेक्सन गरेर कति पानी भरियो भन्ने जानकारी लिन सकिन्छ । ‘हामीले २५ प्रतिशत, पचास प्रतिशत, ७५ प्रतिशत र १ सय प्रतिशत पानी भरिएको जानकारी दिने गरी यन्त्र वनाएका छौ’ विद्यार्थी नेपालीले भने । उनका अनुसार ट्यांकीमा जति प्रतिशत पानी भरिन्छ सोही अनुसार कोठामा रहेको यन्त्रमा वत्ति वल्ने छ । ‘पानी पुरै भरिएपछि बेल समेत वज्ने गरी हामीले बनाएका छौ’ नेपालीले भने ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथमा स्थापना भएको कलेजमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न परियोजना समेत सञ्चालन गरिने कलेज प्रमुख आचार्यको भनाई रहेको छ । ‘हामीले कक्षामा पढाउने मात्रै भन्दा पनि विद्यार्थीको सीप र क्षमताका लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएका छौ’ कलेज प्रमुख आचार्यले बताए । विद्यार्थीहरुले बनाएको यन्त्रलाई व्यावसायिकता दिनका लागि कलेजले सहयोग गर्ने पनि उनले वताए । पानी संकेत सूचक यन्त्रलाई नविन ढकाल, निराजन भण्डारी, सुर्यप्रकाश घर्ती लगायत पाँच जनाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस