टरिगाउँ विमान स्थलमा हवाई इन्धन डिपोको शिलान्यास
दाङ । दाङको टरिगाउँ विमान स्थलमा हवाई इन्धन डिपो निर्माणको शिलान्यास गरिएको छ । सोमबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख कमला न्यौपानेले एक कार्यक्रमका बिच संयुक्त रुपमा डिपो निर्माणको शिलान्यास गरेका हुन् ।
डिपो निर्माणको शिलान्यास गदै मेयर पाण्डेले इन्धन डिपो निर्माण कार्य छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । डिपो निर्माण हुनु दाङको समग्र समृद्धि र विकाससँग जोडिएको विषय भएको भन्दै उनले तोकिएको समय भित्रै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । उनले निर्माण कार्यमा कुनै समस्या र अवरोध भएमा उपमहानगरले आवश्यक सहयोग गर्ने समेत बताए ।
साथै उनले आफूहरूले इन्धन डिपो स्थापनाका लागि गरेको वाचाहरू अहिले पूरा भएको समेत बताए । ६ महिनामा निर्माण कार्य सक्ने गरी न्यु डाईगेन एनसी जेभीसँग सम्झौता भएको छ । निर्माण कम्पनीका प्रोपराईटर चिरण चौलागाइँले गत साउन पहिलो साता भ्याट बाहेक १ करोड ६५ लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरेको बताए । उनले आफूले सम्झौता गरे अनुसार नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । ५ कठ्ठा जमिनमा इन्धन ट्याङ्की राख्ने ठाउँ निर्माण, ट्रस भवन निर्माण लगायतका संरचनाहरू निर्माण गरिने छ । इन्धन भण्डारण ट्याङ्की यस अघि नै ल्याइएको दाङ नागरिक उड्यन कार्यालय प्रमुख कैलाश शर्माले जानकारी दिए ।
उक्त ट्याङ्की ३० हजार लिटर क्षमताको रहेको छ । विमान स्थलमा इन्धन डिपो नहुदाँ यात्रुहरूले महङ्गो भाडा तिरेर यात्रा गर्दै आएका छन् । अहिले हप्ताको ५ दिन नेपाल एयरलाइन्सले उडान भर्दै आएको छ । यही भदौ १० गतेदेखि दाङ–काठमाडौंको हवाइ भाडामा समायोजन भएको छ । न्यूनतम हवाइ भाडा दर ५ हजार ७७० देखि ६ हजार २७० रहेको छ । यसअघि काठमाडौं– दाङको भाडा दर ७ देखि ९ हजार २५५ रहेको थियो ।