दंगिशरणमा दुईदिने आत्मरक्षा तालिम

दाङ । दंगिशरण गाउँपालिकाको हेकुलीमा सञ्चालित महिला तथा किशोरीहरुका लागि आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम आज शनिबार सम्पन्न भएको छ । सामाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा महिला तथा किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो ।

दुईदिनसम्म सञ्चालित तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने, हिंसाका किसिमहरु के के हुन, आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा प्रशिक्षण दिईएको थियो । गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका थिए ।

समाजमा वातावरणिय शिक्षाको विकास सिड संस्थाद्वारा संचालित बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षतामा भएको तालिम समापन समारोहमा सहभागीहरुले तालिमले आफुहरुमा उच्च आत्मबल बढेको बताएका थिए । एक्लै हिडडुल गर्दा डराउँथ्यौ अहिले उच्च मनोबलका साथ आफू माथी घट्न सक्ने घटनामा थोरै भए पनि प्रतिकार गर्न र संभावित हिंसाका प्रकृतिको पहिचान गर्न सक्ने भएको उनीहरुको भनाई थियो ।

सो अवसरमा बोल्ने वक्ताहरुले आत्मरक्षा तालिममा सिकेका सीपलाई ब्यवहारिक रुपमा लागू गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा प्रशिक्षक लक्ष्मण बस्नेत, सरिता चौधरी, ललिता वलि, करुणा न्यौपाने, बिष्णु खड्कालगायतले बोलेका थिए । यसैबिच सोही अवसरमा पुर्णिमा भण्डारी संयोजक रहेको २१ सदस्यीय दंगिशरण गाउँपालिका स्तरिय किशोरी समूह गठन समेत गरिएको छ । कार्यक्रमको संचालन समाजमा वातावरणीय शिक्षाको विकास सिड संस्थाकी सामाजिक परिचालक सीता चौधरीले गरिकी थिएन् ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस