महिला तथा किशोरीहरुलाई आत्मरक्षा तालिम

दाङ । महिला तथा किशोरीहरु लाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम आज शुक्रबारदेखि दंगिशरण गाउँपालिकाको हेकुलीमा सुरु भएको छ । सामाजमा वातावरणीय शिक्षाको विकास (सिड)संस्थाले सञ्चालन गरेको बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा सञ्चालित तालिम दुई दिनसम्म चल्नेछ ।

किशोरीहरु लाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने ?, हिंसाका किसिमहरु के के हुन ? आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगायतका बारेमा प्रशिक्षण दिईनेछ । गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका छन् ।

यसैबिच तालिमको उद्घाटन बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षता तथा दंगिशरण गाउँपालिका वडा नं. ७ का अध्यक्ष वीरबहादुर वलिको प्रमुख आतिथ्यमा रहेका थियो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वलिले आत्म रक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए । न कुनै हतियार न कुनै रक्तपात केवल आफूसँग भएको सीप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्वलाई सबैले बुझ्नु पर्ने उनको भनाई थियो ।

सो अबसरमा दंगिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, गाउँपालिकाका न्यायिक समिति उजुरी प्रशासक यादव डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाकी सामाजिक परिचालक सीता चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस