स्थानीयद्वारा अश्वारामा प्रहरी चौकीको माग

दाङ । असुरक्षाको कारण देखाउँदै तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराका स्थानीयले प्रहरी चौंकीको माग गरेका छन् । गहतेखोला, तुलसीपुर–हापुरे सडकको रोटेपानी र बाघमारे सडकको भमकेखोला रातको समयमा असुरक्षीत भएको भन्ने व्यापक जनगुनासो आएपछि अश्वारामा बसेको सरोकाकारवाला निकायको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।
पछिल्लो समयमा गाउँमा लागुऔषध दुव्र्यसनीमा लाग्ने युवा र बालबालिकाको संख्यामा वृद्धि, कुटपिट, लुटपाट, वन पैद्धावार चोरी निकासी, र अबाञ्चित कृयाकला बढ्न थालेपछि गाउँमा गम्भिर रुपमा छलफल भएको हो । लागुऔषध दुव्र्यसनीमा फसेकाहरुरुले नै रातबिरातको समयमा गहतेखोला, भमकेखोलालाई केन्द्रमा राखेर बस्ने र एक्लैदुक्लै हिड्ने सर्वसाधरण नागरिकलाई लुटपाट र कुटपिट गर्ने गरेका घटनाहरु सार्वजनिक हुनथालेपछि लम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, ईलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकारको रुपमा रहेको तुलसीपुर उपमहानगरपालिकालगायतका निकायलाई प्रहरी चौंकी स्थापनाका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
मितेरी टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अमृत सामाजिक उद्यमी सहरकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शिवहरी भण्डारी, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरमा बस्नेत, अश्वारा कृषि सहकारी संस्थाका अध्यक्ष शेषमणी शर्मा, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, एकता टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद सुवेदी, मायालु टोल विकास संस्थाका अध्यक्ष शान्तिलाल चौधरी, गौरी टोल विकास संस्थाका अध्यक्ष ताराबहादुर बस्नेत, समाजसेवी योगेन्द्र बहादुर शाह दिपक, नमुना टोल विकास संस्थाका अध्यक्ष हस्त बहादुर रसाईली, चेतना टोल विकास संस्थाका अध्यक्ष यमबहादुर विकलगायतले एकतावद्ध तवरले विकृति र विसंगतिका विरुद्ध लाग्नुपर्नेमा जोड दिएका थिए ।