भ्रमित समाचारप्रति गढवा गाउँपालिकाको खण्डन

दाङ । मिति २०७८ भदौ २ को राप्ती पहिचान डटकम अनलाईनले रमा बुढामगरको बाइलाइनमा प्रकाशन गरेको गढवा गाउँपालिकामा बिकास खर्च भन्दा झण्डै १४ करोड बढी रकम सेवा सुविधामा खर्च शिर्षकको समाचारप्रति गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बुधवार एक बिज्ञप्ती जारी गरि उक्त समाचारको खण्डन गरेका छन् ।

उक्त समाचार गाउँपालिकाको आर्थिक प्रशासन शाखासंग नबुझेर, सत्य–तथ्य र प्रमाण नलिएरै गाउँपालिकाका जनप्रतिनिधीहरु र कर्मचारीको समेत बदनाम गर्ने उद्देश्यले लेखिएको पाइएको गाउँपालिकाले जनाएको छ । सो समाचारमा पदाधिकारी वा जनप्रतिनिधीको सेवा सुविधा तर्फ ३५ करोड ११ लाख २९ हजार २०२ रुपियाँ खर्च भएको तथा बिकास र निर्माण तर्फ २१ करोड ४५ लाख ५० हजार ६४ रुपियाँ खर्च भएको उल्लेख गरिएको छ । समाचारमा १३ करोड ६५ लाख ७९ हजार १३८ बढी रकम सेवा सुविधामा खर्च गरिएको र ४ करोड ३८ लाख ५५ हजार ऋण देखाइएको भनी कपोलकल्पित ढंगले नबुझेरै लेखिएको छ । जबकि यो तथ्यभन्दा यस गाउँपालिकाको २०७७÷०७८ को चालु तथा पूँजिगत खर्चमा धेरै भिन्नता छ ।

यस गाउँपालिकाको २०७७/७८ को चालुतर्फको कुल ३५ करोड ११ लाख २९ हजार २०२ रुपियाँ ७० पैसा खर्च भएको र पूँजिगत तर्फ २१ करोड ४५ लाख ५० हजार ६४ गरि कूल खर्च भएको रकम ५६ करोड ५६ लाख ७९ हजार २६६ रुपियाँ ७० पैसा रहेको लेखा शाखाले जनाएको छ । चालुखर्च अन्तर्गत वडा कार्यालयहरु समेत कर्मचारीको तलबभत्ता, पदाधिकारी सुविधा र प्रशासनिक खर्च समेत गरि ७ करोड ७६ लाख ३७ हजार रहेको छ । जबकि उक्त समाचारमा ३५ करोड ११ लाख भनेर सबै चालुखर्चलाई कोड गरिएको छ । यो सरासर गलत छ ।

त्यस्तै प्राकृतिक प्रकोप आगलागी,बाढी तथा कोभिड विपद् तर्फ ७६ लाख ६० हजार, संघ प्रदेश बाट प्राप्त शसर्तः चालुखर्च तर्फ गापाका बिषयगत शाखा, शिक्षक र स्वास्थ्यका कर्मचारीहरुको तलव तथा सामाजिक सुरक्षा भत्ता गरि १७ करोड २७ लाख ५० हजार ६सय २ रुपियाँ ७० पैसा, प्रदेश सरकारको ससर्त र मुख्यमन्त्री ग्रामिण बिकास तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि अनुदान र बिकास तर्फका कार्यक्रमहरुको खर्च १ करोड १५ लाख ४८ हजार, भूमि ब्यवस्थापन कार्यक्रमतर्फ फर्निचर,कम्प्युटर एवं प्रशासनिक खर्च ३ लाख ४८ हजार ६ सय र गाउँपालिकाका बिषयगत शाखाहरु कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा वालवालीका, पशुसेवालगायत शाखाहरु मार्फत भएका सबै कार्यक्रमहरुको १ करोड २१ लख १५ हजार खर्च भएको र संघ तथा प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान रकम खर्च हुन नसकी ६ करोड ९० लाख ७० हजार समेत चालुखर्चबाटै भएको लेखा शाखाले जानकारी दिएको छ ।

साथै उक्त समाचारमा ४ करोड ३८ लाख ५५ हजार गाउँपालिकाले ऋण लिएको भनिएको छ तर गाउँपालिकाको आयब्यय तर्जुमाको समयमा यस पालिकाले कुनै संघसंस्था, अन्तर स्थानीय तह, प्रदेश तह वा अन्य कुनैपनि निकायबाट ऋण नलिएको समेत बिज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौं ।

जबकी गाउँपालिकाभरका शिक्षक कर्मचारीहरुको मात्र बार्षिक तलब ८ करोडको हाराहारी तथा जेष्ठ नागरिक, एकल महिला, दलित वालवालीका र अपांगता भएका नागरिकहरुको भत्तामा बार्षिक ८ करोड ६३ लाख ८ हजार ५ सय ९५रुपियाँ त शसर्तः र चालु खर्चबाटै खर्च हुन्छ । समाचार लेख्दा लेखा सिद्धान्तको न्यूनतम नियम र मापदण्ड नै नबुझेर कर्मचारी र पदाधिकारीको बदनाम गर्ने नियतले लेखिनु राम्रो होइन । प्रशासनीक खर्च र बिकास खर्च नै पहिचान गर्न नसक्ने उक्त समाचारले भ्रमित गराएको पाइन्छ ।

यस प्रकारको समाचार लेख्दा सम्बन्धित निकायबाट प्रतिकृया र तथ्य–तथ्यांक नै नलिएर समाचार लेखिएको गाउँपालिकाको ठहर रहेकोले सबैको जानकारीका लागि उक्त समाचारको खण्डन गर्दै यो बिज्ञप्ती जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस