दाङमा अटो चालकले गरे ५० हजार फिर्ता

दाङ । दाङमा एक जना अटो चालकले यात्रुले अटोमा छोडेर गएको ५० हजार नगदसहितको झोला फिर्ता गरेका छन् । घोराही उपमहानगरपालिका १८ गिठेपानी बस्ने रा १ ह २५८७ नम्बरको अटो चालक प्रेमबहादुर नेपालीले अटोमा यात्रुले छोडेर गएको ५० हजार नगदसहितको झोला प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार मध्यान्ह करिब साढे १२ बजेतिर घोराही उपमहानगरपालिका १५ निवासी ८३ वर्षीय दुर्गाप्रसाद अधिकारीले उक्त अटोमा पैसासहित अटो बिर्सिएर झरेका थिए । घोराही १४ स्थित नेपाल बैंक लिमिटेडबाट रकम निकाली अधिकारी उक्त अटो चढी निमा हल नजिकै रहेको ग्लोबल ल्याबमा चेकचाँज गर्न गएका थिए ।
उनले कागजपत्रसहित रकम राखेको झोला नाम नम्बर थाहा नभएको अटोमा छुटेको भनी तत्काल वडा प्रहरी कार्यालय दाङमा जानकारी गराएको थिए । तर, अटो चालक नेपालीले आफ्नो अटोमा छुटेको झोला वडा प्रहरी कार्यालयमा आएर बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इमान्दारिता पूर्वक उक्त पैसासहितको झोला प्रहरीलाई बुझाएको भन्दै चालकलाई अधिकारीले नगद ५ हजार पुरस्कार दिएका थिए ।