स्वास्थ्य मापदन्ड अपनाउँदै दाङमा पनि गाइजात्रा मनाइयो
दाङ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि दाङमा यसको विशेष रौनक देखिने गरेको थियो । तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ । त्यसकारण पनि दाङमा स्वास्थ्य मापदन्ड पुरा गरी आज गाई जात्रा मनाइएको छ । विगतका वर्षहरुमा जस्तो चहल पहल नभएपनि दाङको सदरमुकाम घोराहिमा गाईजात्रा निकालिएको छ । कोभिड १९ को संक्रमणको कारण गाईजात्रामा उत्साहजनक सहभागीता नभएपनि गाईजात्रामा आफन्त ईक्ष्टमित्रको सहभागिता विना सांकेतिक रुपमा गाईजात्रा मनाईएको हो ।
दाङ जिल्ला नेवारी कला संस्कृतीको धनी भएपनि गतबर्ष देखी कोरोनाको कारण जात्राहरुलाई सिमित बनाईएको छ । विगतका बर्षहरुमा घोराहिबजार भरी गाईजात्रा डुलाउने गरेपनि यस बर्ष भने काठेकोहल स्थित भिमसेन मन्दिरबाट सुरु गरीएको थियो भने नेत्रलालचोक स्वर्गद्धारी एफएफ रोड हुदै गणेश मन्दिर सम्म पुगि फेरी भिमसेन मन्दिरमै पुगेर समापन भएको थियो । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरिन्छ ।सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।