तुलसीपुर खानेपानीका अध्यक्ष वलीद्वारा पदबाट राजीनामा

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले पदबाट राजीनामा दिएका छन् । आईतबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा घोषणा गरेका हुन्् ।

विगत एक वर्षदेखि काम गर्ने बातावरण नभएको भन्दै उनले राजीनामा दिनु परेको बताए । २०७४ सालमा भएको नवौँ अधिबेशनबाट आफु नेतृत्वको कार्यसमितिको पदावधी सकिएको १७ महिना पुगिसक्दा पनि निर्वाचन गराउनुको साटो कार्यसमितिबाटै असहयोग हुनुको साथै आफनो चरित्र हत्या गर्न खोजीएको आरोप लगाउँदै उनले राजीनामाको घोषणा गरेका हुन् ।

कार्यअवधी सकिए पनि काम चलाउको रुपमा काम गर्ने बातावरण नहुनु, कार्यसमिति भित्रबाटै आफुलाई सिध्याउने षड्यन्त हुनु, भ्रष्टाचारको बिल्ला लगाउन खोज्नु, संस्थाको तहसनहस र लथालिङग बनाउन खोज्नु, आफु पनि काम नगर्ने र अरुलाई पनि काम गर्ने बातावरण निर्माण हुनु नदिनु, गलत प्रचार गदै आफनो बदनाम गर्न खोज्नु र उपभोक्ताहरुको हक र अधिकारलाई व्यवास्ता गदै अराजक तत्वहरुले व्यक्तिगत स्वार्थले गर्दा संस्थालाई नै ध्वस्त बनाउन खोज्नु लगायतका कारणले आफु अध्यक्ष पदमा बसीरहन उचित नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको र कार्यसमिति विघटन भएको पनि उनले पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस