वन उपभोक्ता समूहका पदाधिकारीकै मिलोमतोमा अवैध रुपमा काठ कटान

दाङ । दाङको देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका ५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीहरुलेनै प्रक्रिया पूरा नगरेर काठ कटान गरेको खुल्न आएको छ । प्रक्रिया पुरानै नगरेर कटान गरेको काठ घाटगद्धि गरिएको स्थलमा ४ सय ८३ क्यूफिट बढी काठ कटान गरेको भेटिएको छ भने कटान गरेको स्थानमा अझै केही काठ रहेको बुझ्नमा आएको छ ।
अवैध काठ कटानको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि बुधवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत घटनाबारे जानकारी लिएका थिए । काठ कटानमा संलग्नहरुको पहिचानगरी कानुन वमोजिम कारबाही प्रक्रिया अघि बढाउन वन कार्यालयका प्रमुखलाई निर्देशन दिएको कुरुम्वाङको भनाइ छ । ‘सामुदायीक वनका पदाधिकारीको पहिचान हुन्छ उनीहरुलाई कानुन अनुसारको कार्बाही हुन्छ’ कुरुम्वाङ भने ।
यता डिभिजन वन कार्यालयले काठ कटानको लागि सहमती दिनुपर्ने कानुनी प्राबधान छ । सामुदायीक वन उपभोक्ता समुहले वन कार्यालयको सहमती नलिएर काठ कटान गरेको पाइएपछि अनुसन्धान थालिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुवेदीले जानकारी दिए । गत साउन २५ गते वडा कार्यालय छेउँको खाली जग्गामा काठ घाटगद्धी गरेपछि काठ कटानको रहस्य खुलेको हो । सव डिभिजन वन कार्यालयले बरामद मुचुल्का तयार पारेर रेखदेखको जिम्मा सामुदायीक वन समुहलाईनै लगाएको थियो ।
सामुदायीक वन उपभोक्ता समुहले भने उपभोक्ताको भेला र सहमती गरेर ढलापढा रुखहरु कटान गरेर सार्वजनिक स्थलमा डम्पिङ्ग गरेको बताएको छ । उपभोक्तालाई वितरणको लागि कोरिया खोलाले बगाएको, आगलागीमा परेर जलेका रुखहरु कटान गरेर काठ सुरक्षीत गरेको दावी गरेको छ ।