दाङमा मतदाता नामावली संकलन कार्य सुरु
दाङ । दाङको तुलसीपुरबाट मंगलबारदेखि मतदाता नामावली संकलन कार्य सुरु भएको छ । पश्चिम दाङका नागरिकहरुलाई सहज र पाएक पर्ने गरी ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिएको छ ।
नेपाली नागरिकता प्राप्त गरेका तर फोटासहितको मतदाता नामावली नभएका नागरिकहरुलाई लक्षित गदै तुलसीपुरबाट पनि मतदाता नामावली संकलन कार्य सुरु गरिएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख यबहादुर बुढाले जानकारी दिए । कार्यालयबाट पहिलो दिन ४० बढिले फोटोसहितको मतदाता नामावली बनाएको उनले जानकारी दिए । यसअघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक हुँदै आएको थियो ।
तर निर्वाचन आयोगको पछिल्नो नीति अनुसार भदौदेखि देशभर ७७ वटै जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालयबाट पनि फोटोसहितको मतदाता नामावली संकलन थालिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । उनका अनुसार जिल्लामा अब चार ठाउँबाट मतदाता नामावली संकलन सुरु गरिएको छ ।
सबै नागरिकलाई सहज र पाएक पर्ने गरी निर्वाचन कार्यालयसहित जिल्ला प्रशासन र लमही तथा तुलसीपुरको ईलाका प्रशासन कार्यालयबाट पनि मतदाता नामावली अद्यावधिक गर्न सकिने उनले जानकारी दिएका छन् ।