२ हजार व्यवसायीहरूले खोप लगाई सके : अध्यक्ष चालिसे

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रको समन्वयमा आफ्ना दुई हजार बढि व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप लगाई सकेको बताएको छ । वाणिज्य संघले भदौ अन्तिम र असोजको पहिलो सातासम्म सबै उद्योग, प्रतिष्ठान र आम व्यवसायीहरूलाई खोप लगाई सक्ने गरि आन्तरिक तयारी थालेको छ । पहिलो चरणमा फ्रन्ट लाइन मा रहेका व्यवसायीहरूलाई आवश्यकताको आधारमा खोप लगाउने कार्यक्रम सकिएको र अबको केही दिनमा दोस्रो चरणको खोप कार्यक्रम सुरुहुने वाणिज्य संघका महासचिव बिनील केसीले जानकारी दिए ।

यसैबीच तुलसीपुरका ब्युटिसियन, नाई संघ, पेट्रोलियम एशोसियसन, डिपार्टमेन्टल स्टोरका कर्मचारी र यातायात व्यवसायीहरू लाई संघको समन्वयमा खोप उपलब्ध गराई दैनिक उपभोग्यका पसलहरू खुल्ला गर्न सहयोग पु¥याएको भन्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा र जिल्ला जनस्वास्थ्य कार्यालयलाई धन्यबाद ज्ञापन गरिएको छ ।

यता संघका अध्यक्ष रामप्रसाद चालिसेले आफ्ना करिब पाँच हजार व्यवसायीहरूलाई कोरोनाको खोप लगाउने अभियानमा आफू रहेको बताए । उनले भने, ‘हामी सबैको समन्वयमा सबै व्यवसायीहरूलाई कोरोनाको विरुद्धको खोप लगाएरै छाड्छौँ । प्राथमिकताको आधारमा केही दिन ढिलो चाँडो होला तर सबैको पालो आउँछ ।’

त्यस्तै लगत संकलन कार्य अन्तिम चरणमा पुगेको भन्दै अध्यक्ष चालिसेले संघको सदस्यता भएका व्यवसायीहरू लाई प्राथमिकतामा राखेर सिफारिस गर्ने गरेको बताए । उनका अनुसार संघमा दर्ता भएका सबै व्यवसायीहरू र व्यवसायीका सहयोगीलाई समेत खोप लगाउन बिभिन्न निकाय सग समन्वय र सहकार्य भैरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस