सडक खाल्डा नपुरिए टिप्पर रोक्ने चेतावनी : स्थानीय

दाङ । दाङको घोराही–मुर्कुटी सडक झनपछि झन् बिग्रन थालेपछि सडक सुधारका लागि दबाब दिन स्थानीयहरु संगठित भएका छन् । अहिले सबैभन्दा बिग्रेको घोराहीको तल्लो कटुवाखोला पुल, ट्राफिकचोक नवलपुरहुँदै सिस्नेखोला आसपास क्षेत्रका दुई दर्जन बढी टोल विकास संस्थाहरुको आज बसेको आम भेलाले घोराही–मुर्कुटी सडक सुधार सरोकार समिति गठन गरेको छ ।

नारममणि पोख्रेल संयोजक र टेकबहादुर घर्ती सहसंयोजक रहेको समितिमा सो क्षेत्रका सबै टोल विकास संस्थाहरुका प्रमुख सदस्य रहेका छन् । भेलालाई बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली, घोराही १८ का अध्यक्ष भरत अर्याल, बंगलाचुली ४ का अध्यक्ष नारायण डाँगी, बुद्धिजीवी नारायण अधिकारीलगायतले सम्बोधन गरेका थिए ।

भेलाले बिबिध माग समेटेर जिल्ला प्रशासन, सडक डिभिजन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भेलाले घोराही–मुर्कुटी सडकखण्डका विभिन्न स्थानका खाडलहरु तत्काल पुर्न माग गर्दै खाल्डा नपुरिए एक हप्ताभित्र सडक सुधार नभए टिप्पर बन्दलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

त्यस्तै नवलपुरलगायतका क्षेत्रमा गाडी मर्मत, पालो पर्खने आदि बहानामा ठूलो संख्यामा टिप्परहरु घण्टौंसम्म सडकमा पार्किङ हुँदा अन्य सवारीका साधन र पैदलयात्रुका लागि यात्रा निकै कष्टकर हुने भएकाले सडक क्षेत्रको पार्किङ हटाउन पनि भेलाले माग गरेको छ ।

टिप्परको चाप कम गर्न र सडक सुरक्षामा सहयोग पुग्ने उद्देश्यले बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले साँझ ७ बजेदेखि विहान ६ बजेसम्ममात्रै टिप्पर चल्न दिने गरेको निर्णयप्रति आम भेलाबाट एक्येबद्धता जनाउँदै कुनै निश्चित खण्डमा मात्र नभई उद्योगदेखि खानीस्थलसम्म नै सो समय लागु गर्न माग गरिएको संयोजक पोख्रेलले जानकारी दिए ।

भेलाले दाङका पहाडी क्षेत्र तथा दाङकासँग जोडिएका रोल्पालगायतका पहाडी जिल्लामा खानी उत्खनन्को क्रम बढेको र सोही कारणले सडक सुरक्षा खतरामा पर्र्दै गएकाले हरेक खानीजन्य वस्तुको ओसारपसारका लागि रोपवेको ब्यवस्थाका लागि दीर्घकालीन पहल गर्न तथा यो सडक सुरक्षाका लागि कम्तीमा काउलेछेडादेखि बालिमहुँदै घोराही सिमेन्ट उद्योगसम्मको वैकल्पिक मार्गमा टिप्पर चल्ने ब्यवस्थाका लागि पहल गर्न सरोकारवालाहरुसँग माग गरेको संयोजक पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस