कृषकले मल नपाएको गुनासो आएपछि सहकारी तथा मल वितरण केन्द्रको अनुगमन

दाङ । राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकले मल नपाएको विषयमा गुनासो आएपछि अनुगमन सुरु गरेको छ । राप्ती क्षेत्रका सहकारीद्वारा वितरण गर्ने ब्यवस्था मिलाइएकोमा विभिन्न स्थानबाट कृषकले अति न्यून मल पाएको, रकम बढि तिर्न परेको, मलको गुणस्तर, तौलका विषयमा गुनासो गरे सँगै अनुगमन सुरु गरेको छ ।

अनुगमन समिति संयोजक जगदम्बा कुमारी चौधरीको संयोजकत्वमा ८ वटा वडाहरूमा मल वितरण गर्ने सहकारीमा अनुगमन थालिएको कृषि विकास अधिकृत महेश अधिकारीले दिए । अनुगमन समिति संयोजक चौधरी, कृषि विकास अधिकृत महेश अधिकारी, कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखाका निमित्त कार्यालय प्रमुख घनश्याम कहार, कृषि अधिकृत अनिल अधिकारी, कृषि प्राविधिक सहायक सीमा भट्टलगायतको टोलीले आइतबार समेत वडा नं २ र ४ का सहकारीमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा गाउँपालिकाले तोकेको मूल्यमा सहकारीले कृषकलाई मल दिए नदिएको, मल तौलका लागि प्रयोग हुने तराजुको प्रकार, मल भण्डारण गर्ने भण्डार कक्ष, मल बिक्री वितरण गर्दा कृषकलाई सहकारीको बिक्री बिल प्रतिलिपि, कृषक परिचय पत्र, वितरण क्षेत्र लगायतका विषयमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा सहकारी तथा मल वितरण केन्द्रका पदाधिकारी, कर्मचारीलाई कृषकका गुनासा तथा ९ प्रश्नमा रहेर प्रश्न तथा सुझाव दिइदै आईएको छ । साथै मलका बारेमा कृषकको गुनासो समाधानका लागि समेत राप्ती गाउँपालिका कृषि विकास शाखा र कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखा लागी गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस