तुलसीपुर मासु व्यवसायीको सरसफाईमा ध्यान दिन निर्देशन

दाङ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले मासु व्यवसायीलाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ । आइतबार बिहान बसपार्कस्थित पशु बधशालास्थित, मासु पसल र पशुपंक्षी बध गर्ने स्थानको अनुगमणका क्रममा मापदण्ड अनुसार सरसफाईमा ध्यान नदिएको पाइएपछि निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।
अनुगमण टोलीले सरसफाई गर्न, झिंगा नलाग्नेगरी जालीको व्यवस्था गर्न, डि–फ्रिजको व्यवस्था र पसल नविकरण गर्न समेत निर्देशन दिएको छ । निर्देश कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ । बधशालामा रहेका मासु पसललहरुमा झिंडा भन्किएको, सरसफाईमा ध्यान नदिएको र उपभोक्ताहरु बासी मासु खरिद गर्न बाध्य भएको भन्दै जनगुनासो आएपछि उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा अनुगमण गरिएको थियो । रागाँ, खसी, कुखुरा, बंगुरलगायतका कबिर एक दर्जन मासु पसलमा अनुगमण गरिएको थियो ।
अनुगमण टोलिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक बञ्जारा, तुलसीपुर उपमहागनरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, राजश्व शाखा प्रमुख भिम खत्री, वरीष्ठ पशु चिकित्सक सुवाश आचार्य, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष केशकुमार शर्मा, तुलसीपुर उपमहानगरपालिका ५ का वडा सदस्य अजय बुढाथोकी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, अस्थायी प्रहरी विट वस पार्कका प्रमुख भिमबहादुर रावतलगायतको सहभागिता रहेको थियो ।